खाेज्नुहाेस

जेलको छोरो कुरिरहेकी कलावती

Image

अत्तरिया– करिब ६ महिना अघि साँझको समयमा रक्सी खाएर छिमेकीको घरभित्र पसेको भन्दै रामस्वरुप चौधरीलाई प्रहरीले पक्राउ ग-यो । कैलालीको गोदावरी नगरपालिका – ९ सेहरीका चौधरीले साँझको समयमा रक्सी खाएर घरभित्र पसेको छिमेकीको उजुरीको आधारमा प्रहरीले उनलाई यही वैशाख ३ गते पक्राउ गरेको थियो ।

छोरालाई प्रहरीले पक्राउ गरेर लगेपछि आमा कलावती चौधरी र बुवा रामप्रसाद चौधरीमाथि बज्रपात आइलाग्यो । नगरपालिकाकै वडा नं. ७ हरैयामा रहेको एउटा क्रेसर उद्योगमा काम गर्ने रामप्रसादलाई स्थानीय तथा अन्य व्यक्तिहरूले पनि गिज्याउन थाले । उनलाई काम गर्न समेत अप्ठ्यारो भइरहेको अवस्था थियो ।

add everest academy
attariya hospital

यता आमा कलावतीलाई पनि स्थानीयहरूले विभिन्न वहानामा दुःख दिने, नानाथरी कुरा गर्ने लगायतका कार्यहरू गर्न थाले । राजनीतिक रूपमा पनि सक्रिय भएकी कलावतीले कसैसँग कुरा गर्दा पनि उनीमाथि हुँदै नभएको आरोप लाग्ने गर्न थाल्यो । श्रीमतीको व्यवहारको बारेमा बुझेका रामप्रसादले भने कलावतीलाई कुनै पनि कुरामा रोकटोक गरेका थिएनन् ।

छोरालाई प्रहरीले पक्राउ गरेर लगेपछि कतैबाट छोरालाई छुटाउन सकिन्छ की भनेर निरन्तर प्रयासरत चौधरी दम्पतीले कतैबाट पनि सहयोग पाउन सकेनन् । छिमेकीसँग मुद्दा फिर्ता लिन हारगुहार गरे, विभिन्न राजनीतिक दलतिर पनि सहयोग मागे । श्रीमान् र छोराको कमाइले जेनतेन चलिरहेको कलावतीको परिवार एक जनाको भरमा मात्रै टिक्न गाह्रो थियो । त्यसैले पनि घरको एक्लो छोरो जेल जाँदा चौधरी सम्पत्तिलाई बढी पीडा परेको थियो ।

छोरालाई ३ वर्षको जेल सजाय भएपछि भने उनीहरू थप पीडामा परे । छोराको चिन्ताले रामप्रसाद पनि गलिसकेका थिए । जसका कारण यही भदौ २७ गते उनले प्राण त्यागे । छोरा जेलमा परेको दुःख का बिचमा घरमा अलिअलि भए पनि कमाउने श्रीमानले समेत छोडेर जाँदा भने कलावतीलाई झन् बज्रपात प¥यो । घरमा बुहारीसँगै बसिरहेकी कलावतीले रुदै भनिन् ‘छोरा भएको भए पनि मलाई त्यति धेरै समस्या हुने थिएन । जसले मेरो छोरालाई फसाए, अहिले उनीहरूले मलाई पनि नहुने आरोप लगाइरहेका छन् । अब त घरमा पनि कमाउने कोही छैनन्, कसरी दैनिकी गुजारा गर्ने भन्ने चिन्ता छ ।’ उनले श्रीमान् घरमा हुँदा सम्म जसोतसो घर खर्च चलाई रहेको भए पनि अब भने कसरी जिउने भन्ने चिन्ता लागेको बताइन् । ‘मेरो सहारा भन्ने कोही छैन, अब यो ठाउँमा म कसरी हिडौ, कसरी बसौँ भन्ने लाग्छ’ उनले भनिन् ‘मेरो छोरालाई कसैले निकाल्दिएको भए मलाई त्यही जस हुन्थ्यो ।’

attariya technical collage

स्थानीय गीता कुमारी साउँदले कलावतीको अवस्था एकदमै नाजुक रहेको बताइन् । उनले आफूले देखे अनुसार पहिला भने कलावतीको अवस्था राम्रै रहेको बताइन् । ‘कमैया मुक्त हुनुहुन्छ, पहिले छोरा र श्रीमान् हुँदा अवस्था राम्रै थियो, छोरा र बुढाले कमाउँदा जेनतेन चलिरहेको थियो’ उनले भनिन् ‘तर अहिले भने अवस्था एकदमै नाजुक छ, घरमा कोही छैन कमाउने, जमिन पनि थोरै छ ।’ उनले विपन्न अवस्था भएकी कलावतीलाई सहयोग गरिदिन आग्रह गरिन ।

कमैया प्रथाबाट मुक्त भएकी कलावतीको सोही वडाको धनचौरीमा ३ कट्टा जमिन छ । उक्त जमिन पनि अर्काले बनाइरहेको छ । साहुको पैसा नबुझाए सम्म उक्त जमिन पनि कलावतीले जोत्न नपाउने भएकी छन् । सेहरीमा भने उनको घर बास मात्रै रहेको छ । आर्थिक रूपमा त्यसै पनि विपन्न रहेको कलावतीको परिवारलाई फेरि ऋण थपिएको छ । छोरालाई जेलबाट छुटाउने प्रयास र बुढालाई बचाउन खोज्ने प्रयासका बिच उनले करिब ३ लाख ऋण निकालेकी थिइन ।

navjiwan hospital

तर न उनको छोरा निकाल्ने प्रयास सफल बन्यो न त बुढालाई बचाउने प्रयासले नै सार्थकता पायो । घरमा कमाउने कोही नभएर दैनिकी कसरी गुजारा गर्ने भन्ने चिन्ताका बिच थपिएको ऋणले चिन्ता पनि थपेको छ । त्यसैले उनले घरमा कमाएर घर खर्च चलाई रहेको छोरालाई जेलबाट निकालिदिन आग्रह गर्दै आइरहेकी छन् ।

खाद्यान्न तथा नगद सहयोग

यसैबिच कलावतीको परिवारलाई गोदावरी नगरपालिकाका पूर्व नगरप्रमुख हरि सिह साउँद र युवा भाेज जैगडीले खाद्यान्न एवम् नगद सहयोग गरेका छन् । आइतबार परेको जन्मदिनको अवसर पारी दुवै जनाले कलावतीको घरमै गएर उनलाई दाल, चामल, सोडा, स्याम्पु, नुन लगायतका सामग्री सहयोग गरेका हुन । यस्तै कलावतीलाई थप सहयोग होस भन्ने हेतुले केही आर्थिक पनि सहयोग गरिएको थियो ।

पूर्व नगरप्रमुख साउँदले सेहरीमा आर्थिक अवस्था कमजोर भएकी महिला रहेको भन्ने थाहा पाएपछि केही सहयोग गर्नुपर्छ भनेर जन्मदिनको अवसर पारेर उनलाई सहयोग गरिएको बताए । उनले जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नुभन्दा दसैँको समयमा विपन्नका घरमा केही सहयोग होस भनेर सामग्री उपलब्ध गराइएको बताए ।

‘यो दुखको अवस्थामा सबैले सानो सानो सहयोग ग¥यो भने पनि उहाँको परिवारको दसैँ राम्रो बन्न सक्छ भन्ने सोचेर हामीहरूले यो काम गरेका हौ’ उनले भने ‘दसैँको मुखमा समाजमा बसेका व्यक्तिहरूले एकले अर्कालाई सहयोग गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो ।’ उनले दुख सबैलाई पर्ने भएकाले त्यो दुखलाई सम्झेर मन कमजोर गर्नुको साटो आगामी दिनमा कसरी मेहनत परिश्रम गरेर अगाडी बढ्न सकिन्छ त्यतातिर ध्यान दिन आग्रह गरे । उनले कलावतीको छोराको विषयमा पनि आफूले गहन रूपमा बुझेर पहल गर्ने बताए । उनले आगामी दिनहरूमा पनि गोदावरी नगरक्षेत्रभित्र रहेका यस्ता व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै युवा भाेज जैगडीले दुखीलाई सानो मल्हम दिन सकिन्छ कि भनेर राहत स्वरूप सामग्री दिइएको बताए । उनले पूर्व नगरप्रमुख साउँदकै आग्रहमा कलावतीको परिवारलाई सामग्री सहयोग गरिएको बताए । उनले तत्काल आफूले सक्दो सहयोग गरेको र आगामी दिनमा अझै अन्य स्थानबाट गर्न सकिने सहयोगका लागि सदैव कटिबद्ध रहने बताए ।

घरमै पुगेर सहयोग गरिदिएको भन्दै कलावतीले दुवै जनालाई धन्यवाद ज्ञापन गरिन । उनले आजसम्म कसैले पनि आफ्नो परिवारलाई सहयोग नगरेको बताइन् । ‘म धेरै खुसी छु, आजसम्म मेरो घरमा कसैले सहयोग गरेको थिएन । उहाँहरू आउनुभयो, सहयोग गर्नुभयो, मेरो अवस्थाको बारेमा समेत बुझ्नुभयो’ कलावतीले रुदै भनिन् ।