अत्तरिया – सडक कालोपत्रे गर्दा होस वा सडकमा परेका खाल्डा पुर्न त्यसका लागि धेरै उपकरण आवश्यक पर्ने गर्छन् । जसमा अलकत्रा पकाउने, अलकत्रा र गिट्टी मिसाउने सडकमा हालेको अलकत्रा दबाउनका लागि रोलर लगायतका सामाग्री प्रयोग गरिएका हुन्छन् । तर, झट्ट हेर्दा पत्यार नै लाग्न गाह्रो पर्ने गरी बिहीबार अत्तरियामा भने कुनै उपकरण बिना खाल्डा पुर्न लागेको देखेर वरपर हिड्नेहरु आश्चर्यमा परिरहेका थिए ।
एक मजदुर बाल्टीमा अलकत्रा लिएर खाल्डामा छर्किरहेका थिए भने अर्का मजदुरले गिट्टी, अलकत्रा बेल्चाले मिलाएर खाल्डामा हालिरहेका थिए । खाल्डामा अलकत्रा गिट्टी हालेर रोलरले पेलिने गरेको भए पनि त्यत्तिकै छोडिँदै थियो । एक मजदुरले भने ‘हामी सँग रोलर छैन । यो अलकत्रा सडकमा हिँड्ने गाडीका टायरले आफै पेलिन्छ ।’

सडक मर्मतमा खटिएका हेभी इक्युबमेन्ट गोदावरीका प्रतिनिधि दिलीप कठायतले दर्शैको लागि खाल्डाखुल्डी पुरिरहेको बताए । उनले तुरुन्तै टेन्डर प्रक्रिया गर्दा ढिलो हुने भएकाले दसैँको लागि सडकमा भएका खाल्डा पुरिरहेको बताए । उनले आफूहरू बिदा पनि नभनीकन काममा खटिएको बताए । स्थानीयले भने यसरी सडक कालोपत्रे गरेर झारो टार्ने काम गरेको भन्दै कमसल काम गरेको आशङ्का गरेका छन् । स्थानीय दीपक भट्ट दसैँमा खाल्डा पुर्ने नाममा झारो टार्ने काम गरिएको बताए । उनले यसरी बजेटको मात्रै दुरुपयोग भएको बताए ।


सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने अमानतीबाट साना खाल्डा पुर्ने काम भइरहेको बताए । ‘अमानतीबाट ठुला खाल्डा पुर्न मिल्दैन’ उनले भने ‘इमल्सनमा चिप्स मिक्स गरेर साना खाल्डा टाल्ने हो । यो टेम्पेररी हुन्छ ।’
उनले यसका लागि रोलर पनि आवश्यक नपर्ने बताए । ‘यसमा एक दुई पटक गाडी चलेपछि आफै सम्पेक्सन हुन्छ’ उनले भने ‘सानो खाल्डोको लागि मात्रै यो काम भइरहेको हो । अलिकति ठुलो एरिया (खाल्डो) हो भने रोलर आवश्यक हुने हो ।’
उनले खाल्डा पुर्नको लागि १५ टन इमल्सन, ५/७ घन मिटर चिप्स खरिद गरिएको बताए । उनले तत्काल पूर्वपश्चिम राजमार्गको चिसापानी देखि महेन्द्रनगर सम्म, महाकाली राजमार्ग र भीमदत्त राजमार्गमा खाल्डा पुर्ने काम भइरहेको बताए ।
उनले ठेक्का पट्टा नभएको अवस्थामा अमानतीबाट यसरी कार्यालयकै कर्मचारी परिचालन गरेर सडकलाई खाल्डा रहित बनाइने गरिएको बताए । सरकारले दसैँको मुखमा हतारमा खाल्डा पुर्दै आएको भए पनि त्यो दिगो नहुँदा पुनः सडक उस्तै अवस्थामा पुग्ने गरेको छन् ।
अहिले सडकका साना खाल्डा पुर्ने काम गरिएको भएपनि ठुला खाल्डा भने पुर्न ठेक्का सम्झौता हुन बाँकी रहेको छ । भदौ अन्तिम साता आएको ठूलो वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा ठाउँठाउँमा पहिरो गएको थियो । अहिले ति ठाउँमा पहिरो पन्छ्याइएको भएपनि सडक कालोपत्रे हुन भने बाँकी रहेको छ । सडकमा खाल्डा हुँदा पहाडी जिल्लामा यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आएका छन ।
















