खाेज्नुहाेस

खुटिया नदीको पुल जोखिममा, परामर्शदाता मार्फत अध्ययन गरिदैं

Image

अत्तरिया – पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिकाको खुटिया नदीको पुल जोखिममा परेको छ । यसअघि देखि नै जोखिममा रहेको पुल भाद्र अन्तिम साता खुटिया नदीमा आएको बाढीले पुलको उत्तर पट्टिको तटबन्ध बगाएपछि पुल जोखिममा परेको हो । बाढीले पुलको उत्तर पट्टी गरिएको तटबन्धन बगाएको छ । नदीमा आएको बाढीले पुलका पिलर परिपरी पनि कटान गरेको छ ।

पुललाई जोखिमबाट बचाउन मोहना अत्तरिया ६ लेन सडकमा रहेका डिभाइडर राखिएका भए पनि ती डिभाइडर पनि अधिकांश गायब भएका छन् ।

attariya hospital

महाकाली पुल योजना कार्यालयले ६ लेन सडकमा राखिएका डिभाइडर पुल मुनी राखेको थियो । महाकाली पुल योजनाका सूचना अधिकारी इन्जिनियर कपिल प्रसाद पन्तले खुटिया खोलामा अस्थायी रूपमा तटबन्ध निर्माण गरेर नहुने देखिएपछि यसको स्थायी समाधानका लागि परामर्शदाता मार्फत अध्ययन गर्ने काम भइरहेको बताए ।

navjiwan hospital

‘हामीले पहिले नै जोखिम मूल्याङ्कन गरेर खुटिया खोलामा यस पटकको बाढी आउनु पूर्व नै साउन महिनामै कन्सल्टेन्सी (परामर्शदाता) हायर गरेका थियौ’ उनले भने ‘कन्सल्टेन्सी रिपोर्ट फाइनल हुने क्रममा छ । कन्सल्टेन्सीको रिपोर्ट आइसकेपछि कति लागत लाग्छ । त्यही अनुसार अगाडि बढ्छौ ।’

उनले सुदूरपश्चिमका अरू १६ वटा पुल यसअघि नै मर्मत भए पनि खुटिया खोलामा सामान्य मर्मतले नहुने देखिएर दिगो समाधानका लागि परामर्शदाता मार्फत अध्ययन गर्न लागिएको बताए । उनले पुलको अस्थायी मर्मतको काम भने यस वर्ष पनि गरिएको बताए । ‘अस्थायी रूपमा पुलको मर्मत गरेर विभागबाट निर्णय गरेर मोहना अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडर खुटिया नदीमा राखेका थियौ’ उनले भने ‘त्यो अस्थायी समाधानको उपाय मात्रै थियो ।’

खुटिया नदीले बर्सेनि धार परिवर्तन गर्दा पुल विगत देखि नै जोखिममा रहदैं आएको छ । हाल पुललाई जोखिमबाट जोगाउन ग्याभिन तार प्रयोग गरेर तटबन्धन निर्माण गरिएको भए पनि त्यसलाई बर्सेनि नदीमा आउने बाढीले क्षति पुगाउने गरेको छ ।

खुटिया नदीबाट अत्याधिक नदीजन्य पदार्थको दोहन गरिदा पनि यसले तटीय क्षेत्रमा जोखिम बढाउँदै गएको सरोकारवालाहरूको भनाइ छ । खुटिया नदीबाट धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले रोयल्टी उठाएर नदीजन्य पदार्थ संकलन गर्दै आएको छ । यसरी नदीजन्य पदार्थ उठाउँदा मापदण्ड मिचेर नदीजन्य पदार्थ उठाइने गरिँदा नदीले धार परिवर्तन गरी बर्सेनि करोडौँ लगानी गरेर निर्माण गरिएका भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । यस वर्ष मात्रै खुटिया नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्गको पुल सँगै त्यसको दक्षिण तर्फ निर्माण गरिएका दुई वटा झोलुङ्गे पुलमा क्षति पु¥याएको छ ।

खुटिया नदीमा आएको बाढीले गोदावरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको सेहरी पुलको पहुँच मार्ग बगाएको छ भने धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल पनि जोखिममा परेको छ । यी दुई पुल पनि नदीले धार परिवर्तन गर्दा जोखिममा परेका हुन । हाल सो क्षेत्रमा स्थानीयले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएका छन् ।