खाेज्नुहाेस

चेपुवामा सेहरीबासी, सडक माग्दै आन्दोलित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ९ सेहरी, मुरकट्टी, धन्चौरीका स्थानीय आन्दोलित भएका छन् । लामो समय देखि सडक निर्माणको माग गर्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन । वडा, नगरपालिकाबाट ठगिदैं आएका उनीहरूले पछिल्लो पटक प्रदेश सरकारले पनि माग सुनुवाइ नगर्दा स्थानीयहरू आन्दोलित भएका छन् । असोज ७ गते सङ्घर्ष समिति गठन गरेका उनीहरूले आइतबार वडा कार्यालयमा ताला लगाएका छन् भने सोमबार गोदावरी नगरपालिकामा आएका उनीहरूले माग पुरा गर्न ३ दिनको अल्टिमेटम दिएका छन् ।

सेहरीकी निर्मला साउँदले लामो समयदेखि बाटोको माग राख्दा सुनुवाइ नभएको बताइन् । बाटो नबन्दा सुत्केरी, बिरामीलाई अस्पताल पु-याउन निकै समस्या हुने गरेको बताइन् । ‘बाटोको समस्याले बाटोमै बच्चा पाएका छन’ उनले भनिन ‘बाटो आज पिच गर्छौ, भोलि पिच गर्छौ भनेर कहिले काम हुँदैन ।’ उनले आफूहरूको क्षेत्रबाट नदीजन्य पदार्थ (ग्राभेल) उठाएर अरू क्षेत्रका बाटो बनाए पनि आफूहरूको क्षेत्रलाई बेवास्ता गरिएको बताइन् ।

attariya hospital

सेहरी कै गगन सिंह साउँदले सेहरी, मुरकट्टी, धन्चौरीलाई धनगढी उपमहानगरपालिको देवरीया र पूर्व पश्चिम राजमार्ग स्याउले बजार सम्म जोड्ने बाटो कालोपत्रे हुनुपर्ने आफूहरूको माग रहेको बताए । उनले पटक–पटक बाटोको माग गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय एकजुट भएर विरोधका कार्यक्रम गरिरहेको बताए । उनले बस्ती नै जोखिममा पर्ने गरेर नदीजन्य पदार्थ संकलन गरिएपछि आफूहरूको क्षेत्रको विकासका लागि बेवास्ता गरिएको बताए ।

‘स्थानीय स्तरबाट गाउँ जोखिममा पर्ने गरेर नदीजन्य उत्खनन भइरहेका छन् । तर, पनि नगरपालिकाले हाम्रो क्षेत्रका जनताको आवाज सुनेनन्’ उनले भने ‘नदीजन्य पदार्थको उत्खननले हाम्रो बस्ती जोखिममा पर्नुका साथै बाटोको अवस्था पनि नाजुक भइसकेको छ । यसका लागि अब नगरपालिकाले हाम्रो क्षेत्रबाट उठाउने रोयल्टीको ३५ प्रतिशत सोही क्षेत्रलाई छुट्टाउनु पर्छ ।’ उनले आफूहरूको ठाउँबाट गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले नदीजन्य पदार्थ उठाइरहेको भए पनि बाटो बनाउन दुवै नगरपालिकाले चासो नदिएको बताए ।

धनचौरीकी करिष्मा भट्टराईले जनप्रतिनिधिले हाम्रो क्षेत्रको विकासका लागि हरेक चुनावमा भोट माग्ने गरेको भए पनि अहिले सम्म माग पुरा नगरेको बताइन् । उनले हाल धनगढी उपमहानगरपालिका र गोदावरी बिच सीमा विवाद हुँदा आफूहरू झन् मारमा परेको बताइन् ।

‘दुवै पालिकाले हाम्रो क्षेत्रबाट नदीजन्य पदार्थ उठाउन प्रतिस्पर्धा गरे पनि त्यस क्षेत्रका जनताको लागि बाटो बनाउन चासो दिएनन्’ उनले भनिन् ‘अब हाम्रो क्षेत्रबाट उठाएको रोयल्टीको ३५ प्रतिशत रकमले विकास निर्माणको काम गरिनुपर्छ ।’

स्थानीय सुरेश भट्टराईले विगत १० वर्ष देखि बाटोका माग गर्दै आएको भए पनि सुनुवाइ नभएको बताए । उनले आफूहरूको मुख्य माग धनचौरी देखि धनगढीको देवरीया सम्मको बाटो कालोपत्रे हुनुपर्ने रहेको बताए ।

उनले आफूहरू गोदावरी नगरपालिका क्षेत्रमा भएकाले पहिले गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रमा बाटो निर्माण गरिदिए त्यसपछि धनगढी उपमहानगरपालिकालाई पनि बाटो निर्माण गरिदिनका लागि माग गर्न सहज हुने बताए । ‘हाम्रो नगरपालिकाले नै आफ्नो क्षेत्रमा पर्ने बाटो निर्माणमा चासो दिएको छैन’ उनले भने । उनले किनमेलका लागि धनगढी जान नजिक पर्ने भएकाले देवरीया सम्मको बाटो कालोपत्रे भए एकदमै सहज हुने बताए । उनले खुटियामा दुई पालिकाको सीमा विवादका कारण पनि आफूहरू मारमा परेकाले त्यसको समाधानका लागि पहल गरिनुपर्ने बताए ।

navjiwan hospital

वडा कार्यालयमा तालाबन्दी

स्थानीय हेम बहादुर चन्दले वर्षौँदेखि बाटोको समस्या झेल्दै आएकाले आफूहरूले बाध्य भएर अहिले वडा कार्यालयमा तालाबन्दी गरेको बताए । उनले आइतबार वडा कार्यालयमा ताला लगाएको बताउँदै माग पुर नभएर तालाबन्दी नखोलिने बताए ।

‘वर्षौँदेखि बाटोको समस्या झेल्दा पनि हाम्रा मागको कुनै सुनुवाइ भएन’ उनले भने ‘अब खोसेर भए पनि आफ्नो क्षेत्रको विकास गर्नुपर्छ भनेर हामी आन्दोलित भएका हौ ।’ उनले सोमबार नगरपालिकामा आउँदा ३ दिन भित्रमा समस्या समाधानका लागि छलफल गर्ने आश्वासन दिइएकाले सो अवधिमा पनि माग पुरा नभएर थप आन्दोलनका कार्यक्रम गरिने बताए ।

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले जनताका आधारभूत समस्या समाधानका लागि नगरपालिका प्रतिबद्ध भए पनि श्रोतको अभावका कारण जनताले चाहेको जति र आफूहरूले सोचेको जति काम गर्न नसकिएको बताए ।

उनले सेहरी बासीको बाटोको समस्या समाधानका लागि नगरप्रमुख आएपछि स्थानीय सँग छलफल गरेर समस्याको समाधान गरिने बताए । उनले चालु आर्थिक वर्षमा प्रदेशबाट गेटा देखि मुरकट्टी सडक निर्माणका लागि ५० लाख छुटाइएको भए पनि त्यो रकम पर्याप्त नभएको बताए । ‘हामीले प्रदेशमा कम्तीमा डेढ करोड बजेट विनियोजन गरिदिनु भनेर प्रदेश सरकारलाई आग्रह गरेका थियौ । तर, प्रदेश सरकारले अहिले ५० लाख मात्रै विनियोजन गरेको छ’ उनले भने ‘त्यो बजेट पनि गेटा–मुरकट्टी (सेहरी), शीर्षकको हुने भएकाले बजेट गेटा क्षेत्रमै सकिने भएकाले सेहरी क्षेत्रमा सडक कालोपत्रे पुग्ने अवस्था नै छैन ।’

गोदावरी नगरपालिका – ९ सेहरी, मुरकट्टी, धन्चौरीका बासिन्दालाई नजिकको बजार धनगढी पर्ने भए पनि धनगढी जोड्ने सडक कालोपत्रे नहुँदा उनीहरूले निकै सास्ती खेप्दै आएका छन् । सो क्षेत्रलाई धनगढी जोड्ने करिब ४ किलोमिटर क्षेत्र जंगलको बाटो रहेको छ । दुवै पालिकामा पर्ने सो जंगल क्षेत्रमा पर्ने सडक कालोपत्रे गर्न दुवै पालिकाले चासो नदिँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

हाल सो बाटोलाई गोदावरीको सेहरी, मुरकट्टी, धन्चौरीका स्थानीयले धनगढी बजार आवतजावत गर्न प्रयोग गर्दै आएका छन् भने सो बाटो भएर धनगढी उपमहानगरपालिकाले टिप्पर र ट्याक्टर मार्फत खुटिया खोलाबाट नदीजन्य पदार्थ संकलन गर्दै आएको छ । सेहरी, मुरकट्टी, धन्चौरी जोड्ने अन्य २ बाटा (गेटा–मुरकट्टी र सेहरी स्याउले) भए पनि सबैको बाटाहरूको अवस्था उस्तै रहेको भन्दै स्थानीय आन्दोलित भएका हुन ।

भिडियो