खाेज्नुहाेस

अत्तरिया चोकमा झिलिमिली चारैतिर अन्धकार : महिनौँ बितिसक्दा पनि मर्मत भएनन् सडक बत्ती

Image

अत्तरिया – अत्तरियामा बिग्रिएका सडक बत्ती मर्मत नगरिँदा बत्ती मुनी नै अन्धकार हुने गरेको छ । अधिकांश सडकमा सडक बत्ती जडान नै गरिएको छैनन् भने जडान गरिएका सडकमा पनि सडक बत्ती बिग्रिएका छन् । ती सडक बत्ती मर्मत नगरिँदा सडक बत्ती मुनी नै अन्धकार हुने गरेको छ । अत्तरियाको पूर्व रोड, महेन्द्रनगर रोडका विद्युत् पोलमा जडान गरिएका सडक बत्ती बिग्रिएको महिनौँ बितिसकेको छ । तर, ती मर्मत गर्न गोदावरी नगरपालिकाले चासो नदिँदा रात पर्ने बित्तिकै सडक अन्धकार हुने गरेको छ ।

अत्तरियाको वनखेतमा बस्दै आएकी आरती बोगटीले सडक बत्ती नहुँदा आवतजावतमा निकै समस्या हुने गरेको बताइन् । उनले सडक किनारामा लाइट नहुँदा एक्लै हिँड्न डर लाग्ने गरेको बताइन् । ‘राती हिँडडुल गर्दा सधैँ मान्छेसँगै हुन्छौ भन्ने हुँदैन । सधैँ राती टाइममा पुग्छु भन्ने पनि हुँदैन’ उनले भनिन् ‘यता सडक किनारामा लाइट नहुँदा राति हिँड्दा एकदमै डर हुने गरेको छ ।’ उनले अत्तरिया क्षेत्रमा भएको सडक बत्तीको समस्या यस क्षेत्रका राजनीतिक दलहरूले समाधान गरिदिनु पर्ने बताइन् । उनले पहिले भएका लाइट मर्मत नगरिँदा समस्या भएको बताइन् । उनले अत्तरियाको पूर्व रोडमा लाइट भए पनि मर्मतका लागि कसैले वास्ता नगरेको बताइन् ।

attariya hospital

गोदावरी नगरपालिका – ३ मालिका टोलका गम्भीरे सार्कीले लाइट नहुँदा राती हिँडडुल गर्न निकै समस्या भएको बताए । उनले महेन्द्रनगर रोडको चोक देखि गोदावरी पुल सम्म लाइट भए पनि एक वर्ष देखि ती लाइट बल्न बन्द गरेको बताए । उनले मर्मतका लागि कसैले चासो नदिँदा आवतजावत गर्न निकै समस्या भएको बताए ।

navjiwan hospital

‘साँझ सधैँ रात परेपछि घर जाने गर्दछु’ ठेलामा मजदुरी गर्दै आएका सार्कीले भने ‘लाइट नहुँदा अप्ठ्यारो भइरहेको छ । तर हेर्नुपर्ने मान्छेले हेरेका छैनन् । अप्ठ्यारो भएर के गर्नु ?’ लाइट नहुँदा दुर्घटनाको जोखिम पनि बढेको बताउँदै उनले भने ‘रातीको समयमा कसैले ठक्कर दिएर गए पनि नम्बर चिनिने होइन ।’

अत्तरिया चोकमा २ वर्ष अघि हाइमास्ट लाइट जडान गरेर चोकको चारैतिर उज्यालो परिएको भए पनि चोक भन्दा अलि टाढा पुग्ने बित्तिकै अन्धकार हुने गरेको छ । हाइमास्ट लाइट जडान गरेको २ वर्ष बितिसक्दा पनि बजार क्षेत्रमा थप उज्यालो पार्नको लागि कुनै काम हुन सकेको छैन । अहिले वर्षौँ पहिले विद्युतका पोलमा जडान गरिएका थोरै उज्यालो दिने सडक बत्ती पनि बिग्रिदा मर्मत गरिएको छैन । अत्तरियाको महेन्द्रनगर रोडमा चोक देखि गोदावरी पुल सम्म र पुव रोडमा अत्तरिया चोक देखि सशस्त्र बाहिनी सम्म लाइट जडान गरिएका थिए । अहिले २/३ बाहेक सबै बन्द अवस्थामा रहेका छन ।

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले पहिले देखि जडान गरिएका ती सडक बत्ती मर्मत गरिएका भए पनि पछिल्लो अवस्थामा बारेमा आफूलाई जानकारी नभएको बताए । ‘केही बल्ब पहिले देखि थिए । केही पछि पनि लगायौ । अहिले ती अस्तव्यस्तै छन्’ उनले भने ‘अहिले कहाँ कहाँ खराब भएका छन् हेरेर लगाइदिनुपर्ला ।’ उनले तत्काल नयाँ सडक बत्ती जडान गर्ने योजना नगरपालिकामा नभएको बताए । ‘यस वर्ष ४ ठाउँमा हाइमास्ट लाइट जडान ग-र्यौ । अरू त्यस्तो नयाँ कार्यक्रम छैन’ उनले भने ‘छ लेन सडकमा पनि सडक बत्ती जडान गर्ने काम माथिबाटै ढिलाइ भइरहेको छ ।’

अत्तरिया चोक भएर छुट्टिने तीन सडकका सडक बत्ती अस्तव्यस्त हुँदा मोहना अत्तरिया ६ लेन सडकमा पनि डेढ वर्ष बितिसक्दा पनि सडक बत्ती जडान हुन सकेको छैन । नगरपालिकाको २०७९ फागुन १९ गतेको कार्यपालिका बैठकबाट प्राधिकरण सँगको साझेदारीमा गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५.७ किलोमिटर सडकमा स्ट्रिट लाइट जडान गर्ने निर्णय गरेको थियो । जसअनुसार नगरको ६५ र सडक बत्ती प्रवर्द्धन आयोजनाको ३५ प्रतिशत लगानीमा सडक बत्ती जडान गर्ने भनिए पनि अझै काम भने हुन सकेको छैन ।