खाेज्नुहाेस

खुटिया नदी पुरानै धार तर्फ मोडियो, पुल बन्यो बेकामे

Image
गोदावरी नगरपालिका – ९ का बल्मीमा नदीले कटान गरेको झोलुङ्गे पुल । तस्बिर : महेश महर

अत्तरिया – कैलालीको भल्का स्थित खुटिया नदीमा निर्माण गरिएको पुल अहिले बेकामे बनेको छ । पुलको उत्तरपट्टिको पहुँच मार्ग भत्काएर पुल पारी नदी बगेर कटान गरेपछि पुल अहिले प्रयोग गर्न नमिल्ने बनेको हो । यो पुलले गोदावरी नगरपालिका – ९ का बल्मी, राजीफाँटालाई सेहरी सँग जोडेको थियो । वडा कार्यालय नै सेहरीमा भएकाले बल्मी र राजीफाँटाका स्थानीय यही पुल भएर आवतजावत गर्दै आएका थिए भने सेहरीबाट घाँस दाउरा गर्न पनि यही पुलको बाटो प्रयोग गरिँदै आएको थियो । तर, अविरल वर्षा सँगै खुटिया नदीमा आएको बाढीले नदी पुरानै धारमा फर्किएपछि पुल बेकामे बनेको छ ।

स्थानीय जगत राम रानाले केही वर्ष पहिले नदी पुलको उत्तरतर्फबाट बग्ने गरेकोमा अहिले सोही तर्फ मोडिएको बताए । ‘अहिले पुल भएको ठाउँमा त पहिले चौर थियो’ उनले भने ‘केही वर्ष अघि नदी यता मोडिएको थियो । अहिले पुनः पुरानै स्थानतर्फ मोडिएको छ ।’ उनले पहिले भल्का (पर्यटकीय स्थल) छेउ भएर नदी बग्ने गरेको बताए ।

add everest academy
attariya hospital

नदी दक्षिणतर्फ मोडिएको समयमा पुल बनाइएकोमा अहिले नदी उत्तरतर्फ मोडिदा अहिले तटबन्ध गरेर समेत पुल जोगाउन सकिने अवस्था नरहेको वडा अध्यक्ष रामलाल रानाले बताए । उनले अब तटबन्ध गर्नु भन्दा उत्तर तर्फ पुल थप्नु उत्तम विकल्प हुने बताए ।

पुरानो नदी बग्ने क्षेत्र भएकाले पुलको उत्तर तर्फ पनि होचो भू–भाग रहेको छ । अहिले नदी उतै मोडिएकाले सो क्षेत्रलाई तटबन्ध गरेर मात्रै जोगाउन सक्ने अवस्था छैन । पुलको उत्तरी भागको पहुँच मार्ग जोगाउन निकै ठुलो तटबन्ध आवश्यक पर्ने वडा अध्यक्ष रानाले बताए । पुलको डिजाइन गर्दा नै लामो नबनाइँदा अहिले समस्या आएको उनको भनाइ छ । उनले पुलको तटबन्ध गर्न वडा, नगरको बजेटले मात्रै नभ्याउने भएकाले प्रदेशमा आग्रह गरे पनि सुनुवाइ नभएको बताए । ‘मुख्यमन्त्री भएपछि दीर्घ बहादुर सोडारी आफै पुलको स्थलगत अनुगमनमा आएर तटबन्ध निर्माण गर्ने भनेका थिए’ उनले भने ‘त्यसपछि वहाले पनि वास्ता गर्नु भएन । उतीबेलै काम भएको भए यती ठुलो क्षति हुने थिएन ।’

navjiwan hospital

पुलले धार परिवर्तन गर्नुको पछाडि अन्धाधुन्ध पुल छेवैमै भएको नदी जन्य पदार्थको उत्खनन पनि रहेको स्थानीयको भनाइ छ । उक्त २ सय ७९ मिटर लम्बाइको पुल सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि निर्माण सुरु गरेको थियो ।

attariya technical collage

प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय कैलालीले २०७६ मंसिर ८ गते काठमाण्डौको खम्पाचे थानी रुबिना जेबीसँग पुल निर्माणका लागि सम्झौता गरेको थियो । २०७८ जेठ ५ गतेभित्र सम्पन्न गरिसक्ने गरी २ करोड ७० लाख ७ हजारमा ठेक्का सम्झौता भए पनि निर्माणमा ढिलाइ हुँदा पुल गत वर्ष मात्रै सम्पन्न भएको थियो ।

ढिलै भए पनि पुल निर्माण पछि सहज भए पनि अहिले आवतजावत रोकिएको सेहरीकी स्थानीय श्यामकली रानाले बताइन् । उनले पुल बनेपछि तरकारी बेच्न पुल भएर नदी पारी जाने गरेकोमा अहिले आवतजावत रोकिएको बताइन् । ‘पुल भएर तरकारी बेच्न बनभेडा, बल्मी बजार सम्म जाने गरेका थियौ’ उनले भनिन् ‘अहिले पुल भत्किएपछि सबै काम रोकिएको छ ।’

स्थानीय फुलमती रानाले पुल भएर तरकारी बेच्ने सँगै घाँस दाउरा गर्न पनि जाने गरेकोमा अहिले रोकिएको बताइन् । ‘हाम्रो सामुदायिक वन नै पुल पारी छ । अहिले पुल भत्किएपछि आवतजावत रोकिएको छ’ उनले भनिन् ‘पुल चाँडो बनाइदिए आवतजावत गर्न सहज हुन्थ्यो ।’ उनले पुलको उत्तर पट्टि गत वर्ष देखि नै कटान सुरु गरेको भए पनि तटबन्ध नगरिँदा बढी क्षति भएको बताइन् ।