खाेज्नुहाेस

तिजमा रमाए आश्रित महिला र बालबालिका

Image

अत्तरिया – तिज नजिकिए सँगै सहर बजार गाउँघरमा रौनक छाएको छ । महिलाहरूले तिजका गीतमा नाचगान गर्ने, दर खाने कार्यक्रम गरिरहेका छन् । सबैले आ – आफ्नो हिसाबले कार्यक्रम गर्दै तिजको रमाइलो गरिरहँदा यसअघि निराश सेभ हाउसमा आश्रित महिला र बालबालिकाले पनि बुधवार रमाइलो गर्न पाएका छन् । आर्थिक अभावका कारण तिज विशेष कार्यक्रम गर्न नपाएको सेभ हाउसलाई गोदावरी नगरपालिकाकी पूर्व उपमेयर रत्ना कडायतले कार्यक्रम आयोजना गर्न सहयोग गरेपछि आश्रित महिला तथा बालबालिकाले रमाउन पाएका हुन ।

विगत ५ वर्ष देखि सेभ हाउसमा आश्रित बालिका खुसी कामीले सेभ हाउसमा तिज आयोजना गरिदा निकै खुसी लागेको बताइन् । ‘गत वर्ष पनि तिजको कार्यक्रम गरिएको थियो । यो वर्ष चाहिँ कार्यक्रम हुँदैन कि भन्ने लागेको थियो’ उनले भनिन् ‘अहिले पूर्व उपमेयर ज्युले कार्यक्रम गरेपछि निकै खुसी लाग्यो ।’ कञ्चनपुरको पुनर्वासकी खुसी अहिले भाइ सँगै सेभ हाउसमा बस्दै आएकी छिन । उनले बुवा जेल जीवन बिताइरहेको र आमा नभएको बताइन् ।

attariya hospital

सेभ हाउसमा आश्रित निशा धामीले पनि तिज विशेष कार्यक्रम गरिदा निकै खुसी लागेका बताइन् । एक छाक भए पनि मिठो खानेकुरा खाएर तिजमा रमाइलो गर्न पाएको बताइन् ।

navjiwan hospital

सेभ हाउसमा हाल ६६ जना महिला तथा बालबालिका आश्रित छन् । सेभ हाउसमा तिज विशेष कार्यक्रम आयोजना गरेकी पूर्व उपमेयर रत्ना कडायतले देश भरी तिजको रमाइलो भइरहेका बेला सेभ हाउसमा पनि रमाइलो गर्नु पर्छ भनेर आफूले कार्यक्रम आयोजना गरेको बताइन् । उनले तिजको कार्यक्रम अन्तरगत एक छाका खाना सँगै तिजको रमाइलो कार्यक्रम गरिएको बताइन् ।

‘अहिले ठुलाठुला होटलहरुमा तिजका दर खाने कार्यक्रम भइरहेका छन् । तर, यस्ता कार्यक्रमले आश्रित बालबालिका महिला बस्ने सेभ हाउस, पछाडि परेका, विपन्न समुदायका व्यक्तिलाई छुदैन्’ उनले भनिन् ‘यस्ता ठाउँमा पनि सानो भए पनि कार्यक्रम आयोजना गरिदिँदा बालबालिका रमाउन पाउन्छन ।’ उनले तिज पर्वलाई खचिर्लो भड्किलो भन्दा पनि रमाइलो गरेर खुसी साथ मनाउनुपर्ने बताइन् । कार्यक्रममा अत्तरिया क्षेत्रका अगुवा महिलाहरूको पनि सहभागिता रहेको थियो ।

महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले तिजको कार्यक्रम आयोजना गरिदा बालबालिका निकै रमाउन पाएको बताइन् । ‘सेभ हाउस विभिन्न व्यक्तिहरूको सहयोगमा चलिरहेको छ । तर, यस्ता चाडपर्वको समयमा कसैको पनि यहाँ ध्यानाकर्षण हुँदैन’ उनले भनिन ‘पूर्व उपमेयरले के सोच्नु भो वहाँ आफै यहाँ आएर तिज मनाउन्छुु भन्नु भयो । हामी निकै सुखी छौ । आश्रित बालबालिका महिला पनि निकै खुसी भएका छन् ।’

उनले आर्थिक समस्या भएका कारण यस वर्ष तिज विशेष कार्यक्रम गर्न नपाएको बेला कार्यक्रम नै आयोजना गरिदिएपछि निकै खुसी लागेको बताइन् । ‘गत वर्ष डा. नर बहादुर मौनी लगायतको टिमले तिज विशेष कार्यक्रम आयोजना गरिदिएका थिए । तर, यस वर्ष कार्यक्रम आयोजना गर्नको लागि कुनै टुङ्गो थिएन’ उनले भनिन् ‘एक्कासि कार्यक्रमको साइत जुरेपछि निकै खुसी लागेको छ । उनले विभिन्न पीडा र समस्यामा परेर महिला बालबालिका सेभ हाउसमा बस्न आउने भएकाले यस्ता महिला तथा बालबालिकालाई चाडपर्वमा रमाइलो गर्न पाउँदा पीडा बिर्साउन मदत पुग्ने बताइन् ।