खाेज्नुहाेस

गोड्ने बेलामै धान पहेँलो भएपछि गोदावरीका किसान चिन्तित

Image

अत्तरिया – कैलालीको गोदावरीमा हुर्किँदै गरेको धान पहेँलो भएपछि किसान चिन्तित भएका छन् । धान गोड्ने बेलामा पहेँलो हुन थालेपछि किसान चिन्तित बनेका हुन । गोदावरी नगरपालिका – ८ का किसान कमल राज चौधरीले ५ कट्ठा धान बाली पहेँलो भएको बताए । उनले धान पहेँलो भएपछि भेटनरीबाट औषधी किनेर छरेको भए पनि ठिक नभएको बताए ।

‘गत वर्ष पनि १० कट्ठा धान बालीमा यस्तै भएको थियो’ उनले भने ‘पहेँलो भएको धान बालीमा पछि बाला नै आएन । यस वर्ष पनि पोहोर साल जस्तै भएको छ । धानको बाला नै नआउने हो की भन्ने चिन्ता छ ।’ उनले धान बालीमा रोग देखिएपछि सरकारी निकायबाट भने सुझाव सल्लाह दिन कोही पनि नआएको बताए ।

attariya hospital
navjiwan hospital

स्थानीय श्रीराम चौधरीले कृषि प्राविधिकहरूले दिएको सल्लाह अनुसार गर्दा पनि धानको समस्या ठिक नभएको बताए । उनले रोग लागेको क्षेत्रमा धानको बाला नै ननिस्कने भएकाले धेरै नोक्सानी हुने गरेको बताए । ‘धान खेत पहेँलो भएको छ । जिकं, युरिया हाल्दा पनि ठिक भएको छैन’ उनले भने ‘समस्या के हो भन्ने पहिचान नै हुन सकेको छैन ।’

अर्को किसान कालु राम चौधरीले धान बालीमा पहेँलो हुने समस्या वर्षेनी देखिँदै आएको भए पनि कारण थाहा नहुने गरेको बताए । उनले एक पटक कृषि विज्ञ आएर अवलोकन गरिदिएमा आफूहरूको समस्या समाधान हुने अपेक्षा रहेको बताए । ‘वर्षेनी धान पहेँलो भएर बाला नआउने समस्या छ । जसका कारण उत्पादन कम हुन्छ’ उनले भने ‘हामीले सर्जु जातको धान रोप्ने गरेका छौ । धानमा मल हाल्दा पनि पहेँलो हुन्छ । जसले गर्दा उत्पादन कम हुने गरेको छ ।’

उता कृषि ज्ञान केन्द्र कैलालीले भने पानी पर्नु अघि गभारोको समस्या देखिए पनि अहिले त्यस्तो समस्या नदेखिएको जनाएको छ । ‘गभारो एक किसिमको किराका कारण हुने गरेको छ । यो किराले धानको गुभो खाने भएकाले धानको गुभो सुक्दै पात पहेँलो हुन्छ’ कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्याम राज जोशीले भने ‘पानी परेपछि भने यो किरा मर्ने भएकाले यसको समस्या हट्ने गरेको छ ।’ उनले गोदावरीमा धान बालीमा देखिएको रोग किराका बारेमा कार्यालयमा कुनै रिपोर्टिङ नभएको बताए । धान अन्य विभिन्न कारणले पनि पहेँलो हुने भएकाले त्यतिकै कुन रोग हो भनेर भन्न नसकिने उनले बताए ।

कैलालीमा यस वर्ष ६७ हजार चार सय ६३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । जसमा धेरै जसो किसानले सर्जु जातको धान रोपेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । धानमा बढी जसो खैरो थोप्ले रोग, पाते फेद डढुवा, पाते फेद कुहिने रोग, खैरा रोग, देखिने गरेको छ । यस्तै धानमा फड्के किरा, गभारो, धानको पतेरो, पात बेरुवा जस्ता किराले पनि आक्रमण गर्छ । धानमा मल कम अथवा बढी हुँदा पनि विभिन्न समस्या देखिने कृषि विज्ञ बताउन्छन ।