अत्तरिया – कुनै समय पहाडबाट तराइमा गाई गोरुको व्यापार गर्ने डम्बर लुहार अहिले तराइका सडक भरी छाडा छोडिएका गाई गोरु देखेर अचम्ममा पर्छन । बैतडीको दशरथ चन्द नगरपालिकाका लुहार उति बेला पहाडमा भन्दा तराईमा गाई गोरुको बढी मूल्य पाउने भएकाले यहाँ विक्री गर्ने ल्याउने गर्थे । सडक मार्ग समेत नजोडिएको सो समयमा उनी हिँडाएर गाई गोरु तराई ल्याएर व्यापार गर्दै आएको सम्झिन्छन् । तर, पछिल्लो एक दशक यता भने तराइमा गाई गोरु पाल्नेको सङ्ख्या घट्दै जाँदा सयौँ गाई गोरुको सडकमै बास छ । जुन वर्षेनी बढ्दो क्रममा छ । दूधका लागि उन्नत जातका जर्सी गाई पाल्ने गरिएको भए पनि स्थानीय र रैथाने गाई गोरु सङ्कटमा पर्न थालेका छन् ।
कम उत्पादन दिने स्थानीय गाई पाल्नको लागि बढी लगानी लाग्ने भएका कारण पनि किसानहरूले पाल्न छोडेको पशु प्राविधिक टेक साहु बताउन्छन । ‘पछिल्लो समय मानिसहरूको बानी व्यहोरामा पनि परिवर्तन आएको छ । यस्ता गाईलाई दूध दिँदा सम्म पाल्ने त्यसपछि सडकमा छोड्ने गरिएको छ’ गोदावरीको पशु शाखामा कार्यरत साहुले भने ‘पहिला दूध दिन छोडेर बाली लागेपछि मलको लागि भए पनि पाल्ने गरिन्थ्यो । अहिले किसानहरु रसायनीक मलको प्रयोगमा अभ्यस्त भइसकेका छन् । जसले गर्दा दूध दिन छोडेको समयमा पाल्दा केही फाइदा हुँदैन भन्ने सोचले सडकमा छाड्ने गरिएको छ ।’ उनले मल र खेत जोत्नका लागि गोरु पाल्ने चलन पनि आधुनिक प्रविधिको विकास सँगै हराउँदै गएको बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका अनुसार कैलालीमा हाल ५ हजार ६२ गाई गोरु छाडा चौपायाको रूपमा छोडिएका छन् । केन्द्रका सूचना अधिकारी कवि राज कठायतले जिल्लाका १३ वटै पालिकामा छाडा रूपमा गाई गोरु छोडिएको बताए । उनले अहिले सडकमा छोडिएका छाडा गाई गोरु सबै प्रजातिका भएको बताए । उनले केही जर्सी क्रम भए पनि अधिकांश स्थानीय प्रजातिकै रहेको बताए ।
किसान नै पीडित
किसानले नै पाल्न छाडेका छाडा चौपाया (गाई गोरु) का कारण अहिले किसान नै पीडित बनेका छन् । छाडा चौपायाका कारण किसानहरूलाई बाली नै जोगाउन मुस्किल हुने गरेको छ । गोदावरी नगरपालिका – ८ का रामु चौधरीले छाडा चौपायाका कारण बाली जोगाउनै मुस्किल भएको बताए । उनले चौपायाले बाली खाएर सखाप पर्ने भएकाले रातीभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए ।
छाडा चौपायाका कारण बाली जोगाउन निकै मुस्किल हुने अर्को किसान लक्की चौधरीले बताए । उनले छाडा चौपायाको व्यवस्थापनमा सरकारले ध्यान नदिँदा कृषि बाटै विस्थापित हुने अवस्था आएको बताए । ‘खेतमा तारबार गर्न धेरै लगानी लाग्छ । बिना तारबार बाली लगाउँदा कुन बेला छाडा चौपायाले खाएर सखाप पार्ने हो भन्ने चिन्ता हुन्छ’ उनले भने ‘छाडा चौपायाको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्छ ।’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापाले छाडा चौपायाकै कारण अहिले कृषि उत्पादन घट्ने अवस्था आइसकेको बताए । उनले छाडा चौपायाबाट बाली जोगाउन तारबार गर्न नसक्ने किसानले खेत बाझै राख्ने अवस्था आएको बताए ।
एका तीर छोडिएका चौपायाका कारण बाली जोगाउन समस्या भइरहँदा अर्कोतिर गाई गोरुको मल प्रयोग नगरी खेती गर्दा किसानले विभिन्न समस्या पनि झेल्दै आएका छन् । गोदावरी नगरपालिका – ८ का किसान श्रीराम चौधरीले पछिल्लो समय बालीमा युरिया मल, विषादी प्रयोग गर्दा गर्दै पनि विभिन्न रोग किराको जोखिम बढेको बताए । ‘धान खेती पुरै पहेँलो भएको छ । विषादी हालेर पनि ठिक भएन । युरिया हालेर पनि उस्तै छ’ उनले भने ‘पहिले गोठकै मल हालेर खेती गर्दा यस्तो समस्या हुँदैनथ्यो । अहिले विभिन्न किसिमका मल हालेर झन् समस्या बढेको छ ।’ उनले हाल गाई गोरु भैँसी नपाल्ने भएकाले मलको लागि बजारमा पाइने रयायनीक मल कै भर पर्नुपर्ने बाध्यता रहेको बताए ।

वर्षेनी सडकमा मर्दै

किसानले छाडेका गाई गोरुको वासस्थान अहिले सडक बनेको छ । मुख्य राजमार्गहरूलाई वासस्थान बनाएका यस्ता गाई गोरु कति दुर्घटनामा त कति रोग लागेर उपचार नपाई मर्ने गरेका छन् । सडकमा रोग लागेर कति मरे भन्ने यकिन तथ्याङ्क नभए पनि दुर्घटनामा परेर मरेका र घाइते भएका गाई गोरुको भने ट्राफिक प्रहरीले तथ्याङ्क राखेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार प्रदेशमा ३ वर्षको अवधिमा ६० गाई गोरुको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सडक दुर्घटनामा परेर मात्रै प्रदेशमा १३ गाई गोरु (छाडा चौपाया) को मृत्यु भएको छ । सो अवधिमा १४ गाई गोरु घाइते भएका छन् ।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा सडक दुर्घटनामा परेर १६ गाई गोरुको मृत्यु भएको छ भने ६ गाई गोरु घाइते भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ३१ गाई गोरुको सडक दुर्घटनामा मृत्यु भएको र १० गाई गोरु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अन्य कारणले मरेका गाई गोरुको सङ्ख्या भयावह भए पनि यकिन तथ्याङ्क कुनै निकाय सँग छैन ।
थुन्ने होडबाजी
छाडा रूपमा छोडिएका गाई गोरुको व्यवस्थापन गर्ने भन्दै अहिले कैलालीमा स्थानीय तह, विभिन्न संघ संस्था र सामुदायिक वनले काँन्जी हाउस गौशाला बनाएर थुन्ने गरेका छन् । घरपालुवा जनावर गाई गोरुलाई थुनेर राख्दा न आर्थिक लाभ लिन सकिएको छ न गाई गोरु सुरक्षित नै हुन सकेका छन् । पछिल्लो समय स्थानीय सरकारले पनि वर्षेनी करोडौँ खर्च गरेर सडकमा छाडिएका गाई गोरु थुन्ने गरेका छन् ।जसबाट आर्थिक लाभ लिन नसक्दा अनुत्पादित खर्च भइरहेको छ ।

छाडा छोडिएका गाई गोरुलाई व्यवस्थापन गर्न गौशाला बनाएर राखिए पनि आर्थिक लाभ लिन सकिने किसान कृषि सहकारीकी व्यवस्थापक सुना रोकायाले बताइन् । उनले सहकारी मार्फत पनि छाडा गाई गोरुको व्यवस्थापनका लागि काम गरिरहेको बताउँदै यस्ता गाई गोरु पालेर अर्ग्यानिक उत्पादन लिन सकिने बताइन् ।
‘हामीले पनि गत वर्ष देखि नै छाडा चौपायाको व्यवस्थापनका लागि काम गरिरहेको छौ । जसबाट हामीले गाईको गहुँत, गोवर, दूध सबै प्रयोगमा ल्याएर व्यवसायीक रूपमै काम गर्ने योजना बनाएका छौ’ उनले भनिन् ‘गाई गोरुको गहुँत गोबरबाट कोइला, धूप, ग्यास लगायतका सामाग्री निर्माण गर्न सकिन्छ ।’
व्यवस्थापन र लाभ
लामो समयदेखि छाडा गाई गोरुको संरक्षणमा लागेका योगी पिताम्वरले पञ्चकब्यबाट उत्पादन हुने सामान निर्माण गरेर यसलाई व्यवसायीक रूपमा अगाडी बढाउन सकिने बताए । उनले यसरी काम गर्दा एक गाईबाट मासिक ६ देखि ७ हजार आम्दानी गर्न सकिने बताए । उनले मानिसहरूले यसको महत्त्व नबुझेर सडकमा छाड्ने गरेको बताउँदै किसानलाई यसको फाइदाको बारेमा बुझाउन सके दीर्घकालीन लाभ लिन सकिने बताए ।
छाडा गाई गोरु संरक्षणकै क्षेत्रमा काम गर्दै आएका दुर्गा पोखरेलले छाडा रूपमा गाई गोरु नछोड्नका लागि यसको महत्वका बारेमा किसानलाई बुझाउनु पर्ने बताए । उनले किसानलाई यसको धार्मिक महत्त्व सँगै आर्थिक लाभका बारेमा किसानलाई जानकारी दिन आवश्यक रहेको बताए । किसानलाई गाई गोरु पाल्न आकर्षित गर्नको लागि यसको गाई गोरुको बिमा कार्यक्रम सँगै गाईको दूध मात्रै नभएर मलमूत्र पनि बिक्री गर्ने व्यवस्था गरिनुपर्ने बताए ।
‘विगतमा खेतीपाती सँगै पशुपालन गरिदा अर्गानीक उत्पादन पनि हुने गरेको थियो । तर, अहिले किसानहरूले घरमा पाल्ने गाईलाई सडकमा छोडेर खेतमा रसायनीक मल प्रयोग गर्न थालेका छन्’ उनले भने ‘यस्तो गरिदा मानव स्वास्थ्यलाई पनि नकारात्मक असर परिरहेको छ । बजारमा छाडा रूपमा छोडिएका गाई गोरु पाल्न सम्भव नभए पनि गाउँघरमा सबैलाई गाई गोरु पाल्न प्रोत्साहन गर्न सन्किछ ।’ उनले राज्यले किसानले यसको फाइदा बुझाउने कार्यक्रम ल्याए सहजै छाडा गाई गोरुको समस्या पनि समाधान हुने बताए ।

















