खाेज्नुहाेस

कैलालीमा बाढी बिमा गरेका किसान ढुक्क

Image

अत्तरिया – गत वर्ष कैलालीको खुटिया खोलामा आएको बाढीले धान बाली नष्ट गरेपछि चिन्तित सीता चौधरी यस वर्ष भने ढुक्क छिन् । कैलालीको गोदावरी नगरपालिका – ८ मा गत वर्ष आएको बाढीले उनले काटेको धान बाढीले नष्ट गरेको थियो । तर, यस वर्ष भने सूचकाङ्कमा आधारित बाढी बिमा गरेकाले उनी धान बालीमा क्षति भए पनि राहत पाउनेमा ढुक्क छिन । ‘गत वर्ष बाढी बिमा हुन्छ भन्ने थाहा थिएन । बाढी बिमा गर्ने समय तोकिएको हुँदो रैछ मैले ढिला थाहा पाए’ उनले भनिन् ‘यस वर्ष ४ कट्ठा धान बालीको बिमा गरेकी छु । क्षति भए राहत पाइन्छ होला ।’ उनले ४ कट्ठाको बाढी बिमा गर्दा १२ सय तिरेको बताइन् । उनले अधिया गरेर १६ कट्ठामा धान खेती गरेको भए पनि लालपुर्जा नहुँदा बाकी धानको बिमा गर्न नसकिएको बताइन् ।

सीता जस्तै कृष्ण चौधरीले पनि यस वर्ष ४ कट्ठा धानको बाढी बिमा गरेकी छिन । ‘गत वर्ष बाढीले धान बालीमा धेरै क्षति ग-यो । गत वर्ष पैसा नभएर बाढी बिमा गर्न सकेन’ उनले भनिन् ‘यस वर्ष त बिमा गरिहाले धान डुबानमा परेपछि क्षतिपूर्ति पाइन्छ।’

attariya hospital

गत वर्ष पनि धानको बाढी बिमा गरेका यस क्षेत्रका किसानहरूले बाढीले पु-याएको क्षति अनुसार सहजै बिमा रकम भुक्तानी पाएको बताउन्छन । स्थानीय राम बहादुर चौधरीले गत वर्ष बढी जोखिममा भएको २ कट्ठाको बाढी बिमा गरेका थिए । ५ सय रुपैयाँ तिरेर बिमा गरेका उनले बाढीले पु-याएको क्षति बापत १ हजार ८ सय रुपैयाँ पाएको बताए । उक्त रकम सोझै खातामा आएको उनले बताए । १ हजार ३ सय ६० रुपैयाँ तिरेर यस वर्ष पनि बाढी बिमा गरेका उनले बिमा गर्दा जोखिम टरेको बताए ।

स्थानीय गुरियाँ चौधरीले पनि यस वर्ष ३ कट्ठा धान बालीको बाढी बिमा गरेकी छिन । अधिया र आफ्नो व्यक्तिगत गरेर ३ बिगाहामा धान खेती गरेकी उनले जोखिम बढी भएको क्षेत्रको धान बालीको बिमा गरेको बताइन् । ‘जसको नाममा जग्गा छ त्यसको मात्रै बिमा गर्न पाइने भनेका छन्’ उनले भनिन् ‘अधिया बाहेक आफ्नो नाममा भएको जग्गाको बाढी बिमा गरेकी छु ।’ ३ वर्ष अघि काटेको धान सबै बाढीले डुबाएर ठुलो क्षति व्यहोरेकी उनले बिमा गरेपछि जोखिम टरेको बताइन् । १० कट्ठा धान बालीको बाढी बिमा गरेकी सीता देवी चौधरीले २६ सय २० रुपैयाँ तिरेर बिमा गरेको बताइन् । उनले बाढीको जोखिममा आफ्नो खेत भएकाले बिमा गरेको बताइन् ।

८६१ किसान आबद्ध

युएसएआइडी तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा सञ्चालित सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत गोदावरीको खुटिया खोलाका प्रभावित क्षेत्रमा धान खेतीको बाढी बिमा गरिँदै आएको छ । स्टोनस्टेप प्राक्टिकल एक्सनको प्राविधिक सहयोगमा शिखर इन्सुरेन्सले गोदावरी नगरपालिका – ८ मा रहेको एकता प्रगतिशील सहकारी सँगको सहजिकरणमा पाइलट परियोजनाका रूपमा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रम अन्तरगत यस वर्ष खुटिया खोलाको तटीय क्षेत्र गोदावरी नगरपालिका ७, ८ र ९ का ८६१ जनाले बाढी बिमा गरेको सुचाङ्कमा आधारित बाढी बिमा कार्यक्रमको फोकल पर्सन लक्ष्मण बोगटीले बताए । एकता प्रगतिशील सहकारीका ऋण विभाग प्रमुख समेत रहेका उनले गत वर्ष भन्दा यस वर्ष भन्दा तेब्बर बढी किसानले बाढी बिमा गरेको बताए ।

‘गत वर्ष २३१ किसानले ४१७ कट्ठाको बाली बिमा गर्दा दुर्घटना बिमा सहित १ लाख १६ हजार ७४५ रुपैयाँ प्रिमियम उठाएर बिमा कम्पनीमा बुझाएका थियौ’ उनले भने ‘उक्त बिमा बापत किसानले पहिलो पटक असार १४ गते आएको बाढी बापत १० प्रतिशत र दोस्रो पटक साउन २३ गते आएको बाढी बापत १५ प्रतिशत गरेर ३ लाख ७५ हजार किसानले पाए ।’ उनले यस वर्ष २ हजार ६२० कट्ठा धान बालीको बिमा बापत ९ लाख ४३ हजार प्रिमियम सङ्कलन भएको बताए । उनले बाढी बिमा गर्ने किसानको प्रति किसान २ सय प्रिमियम सङ्कलन गरेर २ लाख बराबरको दुर्घटना बिमा पनि गरिएको बताए ।

navjiwan hospital

सहजै भुक्तानी

बाढी बिमा गरेका किसान टेकबहादुर सारुमगरले सूचकाङ्कमा आधारित बाढी बिमाबाट भुक्तानी पाउन निकै सहज भएको बताए । ‘यसमा सर्जिमन मुचुल्का उठाउनु पर्ने, प्रशासन धाउनुपर्ने त्यस्तो झन्झटिलो छैन’ उनले भने ‘हामीले सहकारीमा खाता खोलेका हुन्छौ । सुचाङ्क छुने बित्तिकै एक हप्ता भित्रै हाम्रो खातामा आफै पैसा जम्मा हुन्छ । कहीँ जानु पनि परेन । सकैलाई देखाउनु पनि परेन ।’ उनले गत वर्ष २ कट्ठाको ५ सय तिरेर बाढी बिमा गर्दा १ हजार ५० रुपैयाँ पाएको बताए । उनले यस वर्ष भने अझै खुटिया खोलामा बाढीको क्षतिपूर्ति पाउने सूचकाङ्क तह पार नगरेकाले बिमा रकम नपाएको बताए ।

सूचकाङ्कमा आधारित बाढी बिमा कार्यक्रममा खुटिया खोलामा साढे ४ मिटर देखि ५ मिटर पानीको मापन भए १० प्रतिशत, ५ देखि साढे ५ मिटर पानीको मापन भए २५ प्रतिशत, साढे ५ देखि ६ मिटर पानीको मापन भए ६५ प्रतिशत र ६ देखि माथि मापन भए १०० प्रतिशत क्षतिपूर्ति भुक्तानी गर्ने मापदण्ड तय गरिएको छ । । बिमा शुल्क उत्पादन लागतका आधारमा ७ प्रतिशत कायम गरिएको छ । जसअन्तर्गत एक कट्ठामा बाली उत्पादन लागत ३ हजार ६ सय कायम गरी प्रतिकट्ठा २५२ रुपैयाँ बिमा प्रिमियम तोकिएको छ । बाढीको सूचकाङ्कका आधारमा बिमा दाबी भुक्तानी गरिने भएकाले किसानको खेतमा क्षति भए नभए पनि सूचकाङ्कका आधारमा किसानलाई ७ देखि १० दिन भित्रमै बिमा रकम उपलब्ध गराइँदै आएको छ ।

सूचकाङ्कमा आधारित बाढी बिमा कार्यक्रम कैलालीको कर्णाली नदीको तटीय क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका, खुटिया खोलाको तटीय क्षेत्र गोदावरी नगरपालिका र बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, मधुवन नगरपालिकामा सञ्चालित रहेको स्टोनस्टेप प्राक्टिकल एक्सन फिल्ड अफिसर रवीन यादवले बताए । ३ वर्ष देखि सञ्चालित यो कार्यक्रममा हाल किसानको आकर्षण बढ्दै गएको बताए । उनले सहज भुक्तानी प्रक्रिया र सबै काम अनलाइनबाटै हुने भएकाले किसानहरूको यसमा आकर्षण बढी रहेको बताए ।

उनले पाइलट परियोजनाका रूपमा सञ्चालित परियोजना यसै वर्ष सकिने भए पनि त्यसपछि पनि किसान, इन्सुरेन्स कम्पनी, सहकारी र स्थानीय सरकारले चासो दिएमा यो निरन्तर चलिरहने बताए ।

बाढी बिमाको भविष्य

पाइलट परियोजनाका रूपमा सञ्चालित परियोजना सकिए पनि बाढी बिमा कार्यक्रम निरन्तर चल्ने शिखर इन्सुरेन्स धनगढीका प्रमुख डिल्ली राज शर्मा बताउन्छन । उनले सूचकाङ्कमा आधारित बाढी बिमा कार्यक्रम कुनै परियोजनाले सहयोग नगरे पनि निरन्तर रूपमा चलिरहने दाबी गरे । ‘हामीलाई बाढी बिमा गर्नको लागि तोकिएको प्रिमियम उपलब्ध भएमा यो निरन्तर चलिरहन्छ’ उनले भने ‘अहिले दाता निकायले किसानलाई जागरूक गराउन सहयोग गरेकाले हामीलाई काम गर्न सहज भएको छ । अब किसान आफै जागरूक भइसकेकाले यो निरन्तर आगामी वर्षहरूमा चलिरहन्छ भन्ने हामीले विश्वास लिएका छौ ।’ उनले जोखिम क्षेत्र छनोट लगायत किसानलाई जागरूक गराउन कुनै संघ संस्था, स्थानीय तहहरूले आफूहरू सहयोग गरेर यस कार्यक्रमलाई अन्य ठाउँमा पनि सजिलै बिस्तार गर्न सकिने बताए ।

कैलालीमा बाढी बिमा कार्यक्रममा केही सीमित क्षेत्रमा किसानहरू आकर्षित हुँदै गए पनि अन्य कृषि बिमाका कार्यक्रममा भने अझै किसान सम्म पुग्न सकेका छैनन् । संघ सरकारले कृषि बिमाका लागि ८० प्रतिशत र सुदूरपश्चिममा प्रदेश सरकाले २० प्रतिशत प्रिमियमका लागि अनुदान दिने गरेको भए पनि किसानहरूको यसतर्फ साखै आकर्षण नभएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्याम राज जोशीले बताए ।

उनले कैलालीमा धान बालीको बिमा नै गर्ने किसानको यकिन तथ्याङ्क नभए पनि सङ्ख्या एकदमै न्यून भएको बताए । उनले धानको बीउ उत्पादन गर्ने र व्यवसायीक खेती गर्ने केही किसानले बिमा गरे पनि यसको सङ्ख्या धेरै कम रहेको बताए । केरा खेती, पशु पालनमा किसानहरूले बिमा गर्ने गरेका भए पनि धान गहुँको भने धेरै कम किसानले बिमा गर्ने गरेको बताए । उनले सूचकाङ्कका आधारमा गरिने बाढी बिमाका बारेमा भने जानकारी नभएको बताए ।