खाेज्नुहाेस

कैलालीमा सुगन्धित तेल उत्पादन गर्ने किसान निराश, प्रशोधन उद्योग जीर्ण बन्दै

Image
फोटो : सन् २०१९ मा कैलालीको मुरकट्टीमा गरिएको क्यामोमाइल खेती

अत्तरिया – आफूसँग भएको १० कट्ठामा क्यामोमाइल खेती गरेर एकै सिजनमा १ लाख सम्म आम्दानी गर्दै आएका मान बहादुर चौधरी अहिले निराश छन् । कैलालीको कैलारी गाउँपालिका – ५ विसनपुरका चौधरीले गहुँ खेतीको वैकल्पिक बालिका रूपमा क्यामोमाइल खेती गर्दै आएका थिए ।

‘गहुँ खेती गर्दा मुस्किलले १५/२० हजार आम्दानी हुन्थ्यो । तर, त्यही खेतमा क्यामोमाइल खेती गर्दा १ लाख नाफा हुन्थ्यो’ उनले भने ‘५/६ वर्ष राम्रै फाइदा लिन पाइए पनि अहिले बजार नै नपाउँदा खेती गर्न नै छोडिसकेको छु ।’ बजार नपाउँदा विगत ४ वर्ष देखि क्यामोमाइल खेती गर्न छोडेका चौधरीले सुरुवाती चरणमा आफूले नै गाउँभरका किसानलाई क्यामोमाइल खेती गर्न सिकाएको बताउँन्छन । ‘४ वर्ष अघि गाउँमा १ सय केजी क्यामोमाइलको तेल उत्पादन भएको थियो । जुन ५० देखि ५५ हजार रुपैयाँ सम्ममा बिक्री भयो’ उनले भने ‘त्यसपछि एकाएक क्यामोमाइलले बजार पाउन छाडेपछि खेती गर्ने किसान पनि घटे ।’

add everest academy
attariya hospital

खेती गर्ने किसान घटेसँगै लाखौँ रकम खर्च गरेर सो क्षेत्रमा स्थापना गरिएको प्रशोधन उद्योग पनि जीर्ण बन्दै गएको छ । अहिले केही किसानले सुगन्धित तेल अन्तरगत पर्ने मेन्था खेती गरेका भए पनि प्रशोधन उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । मेन्था गहुँ बाली अथवा तोरी बाली भित्र्याएर धान रोप्नु अघि खेती गरिँदै आएको छ ।

धनगढीको भादागाउँका सुखराम चौधरीले पनि अहिले क्यामोमाइल र मेन्था खेती गर्न छोडेको बताए । ‘४ वर्ष अघि सम्म हामीले गाउँमा गहुँ खेतीको विकल्पका रूपमा क्यामोमाइल र मेन्था खेती गरेका थियौ’ उनले भने ‘सुरुमा रामै भए पनि पछि बजार नपाउँदा खेती गर्न छोड्यौ ।’ उनले खेती गर्न छोडेपछि भादामा रहेको प्रशोधन उद्योग पनि बन्द अवस्थामा रहेको बताए ।

अनुसन्धान केन्द्रकै उद्योग बन्द

attariya technical collage

कैलालीमा २ दशक अघि देखि वैकल्पिक खेतीका रूपमा सुगन्धित तेलजन्य जडीबुटी क्यामोमाइल, मेन्था, सिट्रोनेला, लेमनग्रासको खेती गरिँदै आएको छ । तर, पछिल्लो समय अस्थिर बजारका कारण यसको खेतीमा किसानहरूको आकर्षण घट्दै गइरहेको छ ।

वनस्पति अनुसन्धान केन्द्र धनगढीकी वैज्ञानिक अधिकृत शुबेक्षा शर्माले अनुसन्धान केन्द्रको देवहरियामा रहेको प्रशोधन उद्योग विगत ३ वर्ष देखि बन्द रहेको बताइन् । उनले सुगन्धित जडीबुटी खेती गर्ने किसान घटेपछि अनुसन्धान केन्द्रले सञ्चालन गरेको प्रशोधन उद्योग बन्द भएको बताइन् । उक्त प्रशोधन उद्योग आर्थिक वर्ष २०५९/०६० मा स्थापना गरिएको थियो ।

स्थापना यता नियमित सञ्चालन रहेको उद्योग अहिले प्रयोगमा नआउँदा जीर्ण बन्दै गएको छ । ‘अहिले धनगढी क्षेत्रमा सुगन्धित तेलजन्य जडीबुटी मेन्था, क्यामोमाइलको खेती नै हराएर गएको अवस्था छ’ उनले भनिन् ‘उतीबेला विभिन्न संघ सस्थाहरुले पनि किसानलाई सपोर्ट गरेर यसको खेतीका लागि प्रोत्साहन गरेका थिए । ठाउँ ठाउँमा प्रशोधन उद्योग स्थापना गरिएका थिए । अहिले अधिकांश प्रयोग विहीन भएका छन् ।’

उनले बिचमा केही समय क्यामोमाइलको मूल्य घट्नु, किसानले उत्पादन गरेको तेलले बजार नपाउनु लगायतका कारणले यसको खेती प्रति किसानको आकर्षण घटेको बताइन् । ‘हाम्रो बजार भारतमा निर्भर छ । उताकोले खरिद नगरेपछि यता बिक्री हुँदैन’ उनले भनिन् ‘पछिल्लो समय किसानहरुले बजार पाउन थालेको भए पनि किसानहरू पुनः यसमा आकर्षण गराउन समय लाग्छ ।’
उनले वनस्पति अनुसन्धान केन्द्रले जडीबुटी खेतीको प्रोत्साहनको लागि निःशुल्क रूपमै जडीबुटीको बिउ÷बिरुवा वितरण गर्ने गरेको बताइन् । उनले यस वर्ष कुरिलोको बिरुवा किसानहरूले लगेका भए पनि सुगन्धित तेल तेलजन्य खेतीको लागि बिउको माग नै नभएको बताइन् ।

navjiwan hospital

मेन्था क्यामोमाइलको खेतीमा धान गहुँको भन्दा कम जोखिम भएपनि यसको बजारीकरणकै समस्याका कारक किसानहरु यसतर्फ आकर्षीत हुन नसकेको उनको भनाइ छ । ‘धान, गहुँमा बिभिन्न रोग लाग्ने, गाइबस्तु जंगली जनावरले खाने, गरेको भएपनि जडीबुटीजन्य मेन्थ्या क्यामोमाइलमा यस्ता समस्या कम आउन्छन’ उनले भनीन् ‘मेन्था गहुँ काटेर धान रोप्नु अघि बिचको समयमा खेती गर्न सकिने भएकाले यसबाट तेस्रो बालीका रुपमा अतिरिक्त आम्दानी लिन सकिन्छ । जसले जराले मलको पनि काम गर्ने भएकाले धान उत्पादनमा पनि बृद्धि हुन्छ ।’

७ उद्योग जीर्ण बन्दै

वनस्पति अनुसन्धान केन्द्र धनगढीका अनुसार हाल कैलालीमा १० वटा जडीबुटी प्रशोधन उद्योग रहेका छन् । जसमध्ये ४ वटा प्रशोधन उद्योग कच्चा पदार्थ नपाएर बन्द अवस्थामा रहेको वनस्पति अनुसन्धान केन्द्रका वैज्ञानिक अधिकृत मदन भट्टले बताए ।

उनका अनुसार देवहरीयामा रहेको प्रशोधन केन्द्र सँगै कैलारी गाउँपालिका – ५ विसनपुर, गोदावरी नगरपालिका – ९ मुरकटी, धनगढीको भादागाउँ र अत्तरियामा रहेको सुगन्धित तेल प्रशोधन उद्योग कच्चा पदार्थ नपाएर बन्द अवस्थामा रहेको छन् ।

सामुदायिक स्तरबाट सञ्चालित गोदावरी नगरपालिका – ३ चौकीडाँडा र निजी स्तरबाट सञ्चालित लम्कीचुहा नगरपालिकामा रहेको सगरमाथा जडीबुटी प्रशोधन उद्योग बन्द अवस्थामा रहेका छन् । जुन जीर्ण बन्दै गएका छन् ।

गौरीगंगा नगरपालिका – १ लठैयामा रहेको प्रशोधन उद्योग पनि सञ्चालनमा रहेको भए पनि प्रशोधन भने न्यून मात्रामा हुने गरेको छ । जहाँ मेन्था, क्यामोमाइलको खेती नहुँदा सुगन्धित तेल कडिपत्ताको मात्रै प्रशोधन हुँदै आएको छ ।

सरकारी स्तरबाट सञ्चालित टीकापुरमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले भने हाल मेन्था प्रशोधन गर्दै आएको छ । कम्पनीका प्रमुख कमल बेलबासेले यस वर्ष ५० बिगाहामा मेन्थाको खेती गरिएको बताए । उनले कम्पनीले किसानलाई निःशुल्क बिउ र प्राविधिक सहयोग दिनुका साथै प्रशोधन पनि गरिदिने बताए ।

प्रशोधन गरिएको तेल भने कम्पनीले नै प्रति लिटर १ हजार ४ सयका दरले खरिद गर्दै आएको छ । कम्पनीका प्रमुख बेलबासेले मेन्थाको तेलको बजार सहज भए पनि पछिल्लो ४ वर्ष यता क्यामोमाइलको तेलले बजार नपाएको बताए । उनले बजार नपाउँदा पछिल्लो ४ वर्ष देखि १ हजार ५ सय किलोग्राम क्यामोमाइलको तेल स्टक रहेको बताए । उनले भने ‘हामीले किसानबाट १९ हजारका दरले क्यामोमाइल खरिद गरेका थियौ । तर, विगत ४ वर्ष देखि क्यामोमाइलको तेल थन्किँदै गएको छ ।’ उनले टीकापुर क्षेत्रमा मेन्थाको उत्पादन र बजारीकरण भने राम्रो भइरहेको बताए ।

बाह्य बजारको भर

अहिले पनि सुगन्धित जडीबुटीको तेलको बिक्रीका लागि नेपाल बाहिरका बजारमा भर पर्नुपर्ने अवस्था रहेको छ । जडीबुटीको व्यापार गर्दै आएका नेपालगन्जका व्यापारी कृष्ण थापाले जडीबुटीको बजारका लागि भारतमा भर पर्नुपर्ने बाध्यता रहेको बताए । उनले भारतबाट तोकिएर आउने मूल्य अनुसार नै आफूहरूले जडीबुटी खरिद गर्ने गरेको बताए ।

वनस्पति अनुसन्धान केन्द्रका वैज्ञानिक अधिकृत मदन भट्टले सुगन्धित जडीबुटीको तेल विभिन्न औषध तथा कस्मेटिक सामानमा प्रयोग हुने गरेको बताए । तर, नेपालमा यसको खपत गर्ने उद्योग थोरै भएकाले किसानहरूले उत्पादन गरेको तेल बाह्र बजारमा पठाउनु पर्दा मूल्य अस्थिर हुने उनले बताए । ‘मेन्थाको तेल केही मात्रामा भए पनि नेपाली कम्पनीहरूले मसाज तेल बनाउनको लागि प्रयोग गरिरहेका छन’ उनले भने ‘क्यामोमाइलको तेल भने बाहिरी देशमै निर्यात गर्नुपर्ने अवस्था छ ।’