खाेज्नुहाेस

इप्रका मालाखेतीमा लागुऔषधका मुद्दा बढेका बढ्यै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा वर्षेनी लागुऔषधका मुद्दा बढ्दै गइरहेका पाइएको छ । इप्रका मालाखेतीको तीन वर्षको तथ्याङ्क अनुसार प्रत्येक वर्ष लागुऔषधका मुद्दा बढ्दै गइरहेका पाइएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लागुऔषधका ३१ मुद्दा दर्ता भएकामा २०७९/०८० मा ५४ मुद्दा दर्ता भएका छन् भने २०८०/०८१ मा यो संख्या बढेर ६६ पुगेको छ । इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बढीजसो युवा पुस्ता लागुऔषधमा फसिरहेको बताए । इप्रकाले आफ्नो कार्य क्षेत्र (गोदावरी, गौरीगंगा र चुरे) भित्रबाट २०८०/०८१ मा लागुऔषधका ६६ मुद्दा दर्ता हुँदा ९८ जना पक्राउ गरेको छ ।

१९ वर्षदेखि लिएर ३० वर्षसम्मका युवायुवती लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेका पाइएको उनी बताउँछन् । ‘१८ वर्ष उमेरभन्दा कमका पनि पाइएका छन्, विशेषगरी चाहीँ १९/२० देखि ३० वर्ष भित्रका बढी छन्, ४०/४५ वर्षको पनि केही व्यक्ति फेला पर्नुभाछ’, उनले भने । पछिल्लो एक वर्षको अवधिमा ९८ जना पक्राउ पर्दा ७३ ग्राम ६०३ मिलिग्राम हिरोइन र १३ किलो ३८० ग्राम ६७ मिलिग्राम बरामद भएको प्रहरीको तथ्याङ्क छ ।

add everest academy
attariya hospital
navjiwan hospital

लागुऔषधले हानी पु-याउने कुरामा ज्ञान नहुनु, साथीहरुको लहलहैमा लाग्नु, आफै सचेत बन्न नसक्नु जस्ता कारणले युवापुस्ता लागुऔषधको जालोमा फस्दै गइरहेको उनी बताउँछन् । यसबाट बच्न स्वयम् जागरुक हुनुेपर्ने उनी बताउँछन् । ‘यसमा फसिसक्या छ भने सुध्रिने उपाय सुधार गृह र उपचार नै हो, स्वयमलाई नै अब म सुध्रनु पर्छ, यसमा लाग्नुहुँदैन भन्ने भएर आयो भने बाहिर आएर अरु केही काममा जोडियो भने एकदम राम्रो हुन्छ, उ सुध्रिन्छ’, उनले भने, ‘तर सुधार गृहबाट आएपछि फेरि उही वातावरणमा फर्कियो, उही साथीसङ्गतिहरुसँग हिँड्न थाल्यो भने फेरि फस्ने सम्भावना बढी हुन्छ ।’

त्यसैगरी पछिल्लो वर्ष अत्तरियामा होटेलमा हुने अनैतिक क्रियाकलापमा संलग्न ५१ जना पक्राउ परेका छन् । ३० जना महिला २८ जना पुरुष र एक जना तेस्रो लिङ्गी पक्राउ परेका हुन् । त्यस्तै, जुवा तासबाट २ लाख ३० हजार ८ सय ५५ रुपैयाँसहित १९ जना पक्राउ परेका छन् । अवैध काठ ४४६.१७ क्युफिटसहित ८ जना पक्राउ परेका छन् । नदीजन्य पदार्थ अवैध उत्खनन् तथा ओसारपसारमा १४ ओटा ट्याक्टर, ७ ओटा जेसीबी, एक टिप्पर र ४ ओटा रोल गरी २७ सवारी साधन नियन्त्रणमा लिइएको छ । जसबाट ७ लाख १२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

विभिन्न मुद्दामा ९ लाख ४४ हजार ७२४ रुपैयाँ जरिबाना तिर्न बाँकी रहेका ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । भन्सार चोरीका अन्दाजी २५ लाख २३ हजार २४० मूल्यका सामानसहित ५ जना र १५ सवारी साधन कैलाली भन्सार कार्यालय धनगढी बुझाइएको छ । २७ सय लिटर घरेलु मदिरा र ७५० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ ।यो अवधिमा १७४ ओटा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

attariya technical collage

इप्रका मालाखेतीका डिएसपी थापा गत चैत १९ गते कार्यालयमा हाजिर भएका थिए । उनले यस क्षेत्रमा लागुऔषध, अनैतिक क्रियाकलाप र सवारी दुर्घटना विशेष समस्याको रुपमा रहेको पाइएको बताए । स्थानीय लगायत सबैबाट राम्रो सहयोग पाइरहेकाले कार्यकालको तीन महिनाको अवधिमा आफ्नो कार्यक्षेत्रमा त्यति धेरै चुनौती नदेखिएको उनी बताउँछन् ।