अत्तरिया – बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेका बर्थिङ सेन्टर बन्द गरिएका छन् । बर्थिङ सेन्टर सञ्चालनका लागि बजेट अभाव भएको भन्दै गाउँपालिकाले ४ वटा बर्थिङ सेन्टर बन्द गरेको हो । स्वास्थ्य शाखा प्रमुख राम सागर शाहले संघबाट आउने बजेटमा कटौती भएपछि बर्थिङ सेन्टर बन्द गर्नुपरेको बताए । उनले गत आर्थिक वर्षमा ३३ लाख बजेट आएकोमा यो वर्ष २० लाख मात्रै बजेट आएकाले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको बताए । उनले एउटा बर्थिङ सेन्टरमा १ जना मात्रै अनमी भएकाले २४ घण्टा सेवा पनि दिन नसकिएकाले बन्द गरिएको बताए ।
गाउँपालिकाले यस वर्ष एम्बुलेन्स पनि खरिद गरेकाले बर्थिङ सेन्टर बन्द गरिएको उनको भनाइ छ । ‘अहिले स्वास्थ्य संस्थाहरूमा सञ्चालनमा रहेका बर्थिङ सेन्टर सञ्चालनमै रहन्छन्’ उनले भने ‘जुन बर्थिङ सेन्टर बर्थिङ सेन्टरको मात्रै सेवा सञ्चालमा थियो तिनीहरूलाई बन्द गरेका छौ । बर्थिङ सेन्टर मात्रै सञ्चालनमा रहेका ठाउँमा पूर्वाधार पनि थिएनन् । सडक थिएन । बर्थिङ सेन्टर सञ्चालन गर्न जोखिम थियो ।’

उनले २ वटा बर्थिङ सेन्टर यसअघि नै बन्द भइसकेकोमा २ वटा असार देखि बन्द भएको बताए । उनले गाउँपालिकामा अब स्वास्थ्य संस्था सहितका ६ वटा बर्थिङ सेन्टर सञ्चालनमै रहेको बताए । गाउँपालिकाले एम्बुलेन्स किनेकाले हाल बन्द भएका बर्थिङ सेन्टर क्षेत्रमा महिलाहरूलाई एम्बुलेन्स मार्फत स्वास्थ्य संस्था बाटै बर्थिङ सेन्टरका सेवा दिइने उनको दावी छ । गाउँपालिकाले पत्रमा भने आर्थिक वर्षमा बजेट अपुग भएकाले पञ्चेश्वर गाउँपालिका अन्तरगतका सम्पूर्ण बर्थिङ सेन्टरमा हाललाई सेवा स्थगित गरिएको उल्लेख छ । पत्रमा बर्थिङ सेन्टरमा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य शाखामा सम्पर्क राख्न भनिएको छ ।

गाउँपालिकाले सञ्चालनमा रहेका बर्थिङ सेन्टर पनि बन्द गरेपछि स्थानीयले भने आक्रोश पोखेका छन् । पालिकाले स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा भएका बर्थिङ सेन्टर पनि बन्द गर्नु गलत भएको पञ्चेश्वर गाउँपालिका – ४ आम्चौराका जय चन्दले बताए । उनले स्वास्थ्य जस्तो जटिल र संवेदनशील विषयमा गाउँपालिकाको निर्णयले जनताको स्वास्थ्यमा खेलबाड गरेको बताए ।
‘स्वास्थ्य जस्तो जटिल र संवेदनशील विषयमा गाउँपालिकाद्वारा यस्तो गलत निर्णय हुन भनेको आम जनताको जनस्वास्थ्य माथि खेलबाड गर्नु हो । यो उचित होइन’ उनले भने ‘गाउँपालिकाले अरू क्षेत्रको बजेटमा कटौती गरेर पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अग्रता दिनुपर्ने थियो तर त्यस्तो भएन ।’
स्थानीय प्रकाश चन्दले जनताले पाइरहेको स्वास्थ्य सेवा पनि स्थानीय सरकारले खोसेको बताए । उनले वडाका सबै ठाउँ स्वास्थ्य चौकीको पहुँचमा नभएकाले त्यस्ता ठाउँमा सञ्चालन भएका बर्थिङ सेन्टर बन्द गरेर जनतालाई दुःख दिने काम गरिएको बताए । हाल पञ्चेश्वरका ६ वटै वडामा एक एक वटा स्वास्थ्य चौकी भए पनि भौगोलिक रूपमा ठुला वडाहरूमा स्वास्थ्य चौकी पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।
सबै वडाहरूमा सडक पुगे पनि सबै ती सडक कालोपत्रे नहुँदा बाह्रै महिना सञ्चालनमा आउँदैनन् । गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले भने आफूले पनि सामाजिक सञ्जालबाट बर्थिङ सेन्टर बन्द भएको बारेमा सुने पनि विस्तृत बुझ्न नपाएको बताइन् ।

















