अत्तरिया – कैलालीको गोदावरीमा गुणस्तरहीन काम भएको भन्दै विवादित बनेको कल्भर्ट भत्काइने भएको छ । गोदावरी नगरपालिका – ४ मा ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले असार २० गते राती कल्भर्टको ढलानको काम रोकेका थिए ।
स्थानीयले गुणस्तरहीन सामग्री प्रयोग गरेर रातीको समयमा कल्भर्ट ढलान गर्न लागेको भन्दै काम रोकेपछि तत्काल वडाका प्राविधिकले निर्माण सामग्रीको ल्याब टेस्ट गरेर मात्रै काम अगाडि बढाउने बताएका थिए । तर, हाल उक्त कल्भर्ट ल्याब टेस्ट नै नगरी भत्काउन लागिएको हो । स्थानीयले काम रोकेपछि कल्भर्ट आधा पनि ढलान गरिएको छैन । वडाका सब–इन्जिनियर हर्क धामीले आधा ढलान गरेको कल्भर्ट भत्काउनका लागि ठेकेदारलाई पत्र पठाइसकिएको बताए ।

‘हाल गरिएको ढलान भत्काएर नयाँ ढलान गर्दा कार्यालयको स्वीकृति लिएर मेट्रियल चेकजाँच गरेर मात्रै काम गर्न ठेकेदारलाई पत्र काटिसकिएको छ’ उनले भने ‘पुरानो ढलान गरेको फाल्ने भनेपछि चेक गर्ने कुरा भएन ।’ उनले ढलान गरेको भाग मात्रै भत्काएर पुनः काम सञ्चालन हुने बताए । ‘कल्भर्टको वाल हामीहरूको सुपर भिजनमा निर्माण भएको थियो । तर, ढलानको दिन हामीलाई जानकारी नै नदिएर काम गरिएको थिए’ उनले भने ‘अब हाम्रो सुपर भिजनमा मात्रै काम गर्न भनेका छौ ।’ स्थानीयले भने ल्याब टेस्ट नगरी कल्भर्टको ढलान भत्काएर गल्ती ढाकछोप गरी ठेकेदारलाई चोख्याउन खोजिएको आशंका व्यक्त गरेका छन् ।

स्थानीयले रातीको समयमा ठेकेदारले कम सिमेन्ट प्रयोग गरेर गुणस्तरहीन गिट्टी, बालुवा प्रयोग गरेर कल्भर्ट ढलान गर्न लागेपछि काम रोकेको बताएका छन् । स्थानीय विष्णु प्रसाद जोशीले ढलान गर्दा स्थानीयलाई पनि झुक्काएर काम गर्न खोजेपछि अवरोध गरिएको बताए ।

‘हामीले निर्माण स्थलमा राखिएको गिट्टी राम्रो छैन भन्दा अर्को ठाउँमा गिट्टी राखिएको छ त्यहाँबाट ल्याएर ढलान गर्छौ भनेका थिए’ उनले भने ‘पछि राती भएपछि धमाधम निर्माण स्थलमै भएको बालुवा मिसिएको गिट्टी प्रयोग गर्न थालेपछि सबै जम्मा भएर काम रोकेका हौ ।’ उनले अहिले ठेकेदारले निर्माण स्थलबाट सबै निर्माण सामग्री फिर्ता लगिसकेको बताए ।
गोदावरी – ४ मा हाल संघीय सरकार र नगरपालिकाको पचास पचास प्रतिशत लगानीमा वडाको बास्कोटा, खैराना हुँदै वसन्तपुर जोड्ने करिब ७ किलोमिटर सडक कालोपत्रे र ४ वटा कल्भर्ट निर्माण हुँदैछन । जसको निर्माणका लागि जगदम्बा, मालिका, स्वामी केदारनाथ जेभीले सँग ६ करोड ४५ लाखमा ठेक्का सम्झौता गरिएको छ । सडक निर्माणको लागि ११ करोडको स्टमेट तयार गरिएको भए पनि तिन वटै कम्पनीले संयुक्त रूपमा करिब ४२ प्रतिशत बिलोमा ठेक्का सम्झौता गरेका छन् ।
उक्त सडक, कल्भर्टको वैशाख १२ गते गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । सडक कालोपत्रेका लागि २०८३ असार मसान्त सम्मको समय तोकिएको छ ।
वडाको तराई क्षेत्र जोड्ने गरी उक्त सडकलाई रिङ्ग रोडका रूपमा अगाडी बढाइएको छ । जस अन्तरगत पुरानो कल्भर्ट भत्काएर नयाँ कल्भर्ट निर्माण गर्न लागिएको छ । यस सडकलाई गोदावरीमा हालसम्मकै बन्न लागेको लामो सडकका रूपमा पनि लिइएको छ ।

सम्बन्धीत भिडियो


















