अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ९ जनालाई दुना टपरी बनाउने तालिम दिइएको छ । ओमन बैंक तथा एफसीएको आर्थिक सहयोगमा निड्स नेपालले नगरपालिकाको वडा नम्बर ४ किचाही शिविरका ९ जना महिलालाई १० दिने दुना टपरी बनाउने तालिम दिएको हो ।
निड्स नेपालका परियोजना संयोजक हेमन्त शाहीले ‘दिगो आम्दानीद्वारा महिला उद्यमीहरूको सशक्तीकरण’ परियोजना अन्तरगत महिलाहरूलाई तालिम दिइएको बताए । उनले स्थानीय महिलाहरूको मागका आधारमा दुना टपरी तालिम आयोजना गरिएको बताए । तालिमबाट उत्पादित दुना टपरी वातावरण मैत्री हुने भएकाले यसले प्रदूषण घटाउन मदत पनि पुग्ने उनले बताए ।

‘प्राकृतिक रूपमै पाइने पातहरूको सदुपयोग गर्ने हिसाबले पनि यो तालिम फाइदाजनक छ । यो वातावरण मैत्री पनि छ’ उनले भने ‘विश्वभर वातावरण प्रदूषण घटाउन कसरी प्राकृतिक श्रोत साधनको प्रयोग गर्न सकिन्छ भन्ने बहस चलिहरेका बेला यो तालिम त्यसैसँग लक्षित रहेको छ ।’ उनले तालिम लिएका महिलाहरूलाई आयआर्जन सँग जोड्नको लागि तालिम पश्चात् पनि सहजिकरण गर्ने बताए ।

मंगलबार कृष्णपुर नगरपालिकाकी उपमेयर द्रोपती रानाको प्रमुख आथित्थ्यमा तालिमको समापन गरिएको थियो । कार्यक्रममा बोल्दै उपमेयर रानाले थारु समुदायमा परम्परागत रूपमै दुना टपरी प्रयोग गरिँदै आएकोमा यसलाई व्यवसायीकरण गर्न तालिमले सहयोग पुग्ने बताइन् ।
उनले कृष्णपुर नगरपालिकालाई पनि प्लास्टिक निषेधित क्षेत्र घोषणाको तयारी गरिएकाले दुना टपरीको बजार विस्तारमा अझै सहयोग पुग्ने बताइन् । उनले तालिम लिएका महिलाहरूलाई व्यवसायीक रूपमा काम गर्न आग्रह गरिन ।
जेठ २४ देखि असार १ गते सम्म सञ्चालित तालिमको प्रशिक्षण दुना टपरी व्यवसायी भावना पुलामी मगरले दिएकी थिइन् ।
तालिममा सहभागि कल्पना चौधरीले तालिम निकै लाभदायक भएको बताउँदै व्यवसायीक रुपमा काम गर्न आवश्यक उपकरण पनि सहयोग गर्न आग्रह गरीन ।
निड्स नेपालका उपाध्यक्ष धन बहादुर चौधरी (कुस्मी) को अध्यक्षतामा आयोजना गरिएको समापन कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।


















