अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले करार कर्मचारीलाई मन्त्रिपरिषद्को निर्णय विपरित खाजा खर्च बाँडेको भेटिएको छ । नगरपालिकाले कार्यालयमा कार्यरत १० जना कर्मचारीहरुलाई मन्त्रिपरिषद्को निर्णय विपरित खाजा खर्च बाँडेको भेटिएको हो ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को लेखापरिक्षण प्रतिवेदनमा नगरपालिकाले १० जना करार कर्मचारीलाई १ लाख २० हजार रुपैया खाजा खर्च वाफत भुक्तानी गरेको देखिएको उल्लेख गरिएको छ ।

‘नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४ बैशाख २१ गतेको निर्णयले दरबन्दी भित्रका करार कर्मचारीहरुलाई दिने सुविधामा स्थानिय भत्ता र महंगी भत्ता लगायतका अन्य भत्ता नपर्ने भएको हुँदा करार कर्मचारीहरुलाई खाजा खर्च उपलब्ध गराउन नहुने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ‘तर यस पालिकाले राष्ट्रिय भुमि आयोग सेवा केन्द्रमा कार्यरत फिल्ड कर्मचारीलाई कार्तिक देखी पुष सम्म ३ महिनामा १ लाख २० हजार भुक्तानी गरेको छ ।’
प्रतिवेदन अनुसार नगरपालिकाले प्रत्येक व्यक्तिलाई मासिक ४ हजारका दरले खाजा खर्च भुक्तानी गरेको छ । मन्त्रिपरिषदको निर्णय विपरित करार कर्मचारीहरुलाई भूक्तानी भएको खाजा खर्च र परिवहन खर्च मनासिव नदेखिएको भन्दै महालेखा परिक्षकको कार्यालयले उक्त रकमलाई नगरपालिकाको अनियमित भएको रकमका रुपमा ब्याख्या गरेको छ ।

















