अत्तरिया – कैलालिको गोदावरी नगरपालिका वडा नम्बर १० ले आगामी आर्थिक वर्षका लागि ७१ लाख ८४ हजार ५८६ रुपैया बजेट प्रस्तुत गरेको छ । शुक्रबार वडाको आठौ भेला मार्फत कार्यालयले नगरको बजेट सिलिङ अनुसारको बजेट प्रस्तुत गरेको हो ।
आगामी आर्थिक वर्षका लागि वडाले विभिन्न शिर्षकमा बजेट बिनियोजन गरेको वडाध्यक्ष रबिन्द्र शाही (गुड्डु) ले जानकारी दिए । उनका अनुसार वडाले भौतिक पुर्वाधार बिकास तर्फ ३१ लाख, सामाजिक बिकास तर्फ १७ लाख ७५ हजार र आर्थिक बिकास तर्फ ७ लाख रुपैया छुट्याएको छ । यसैगरी बिपद ब्यवस्थापन तथा मागमा आधारित कार्यक्रम तर्फ १० लाख ९ हजार ५८६ र सार्वजनिक सेवा प्रवाह, कार्यालय संचालन तथा ब्यवस्थापन तर्फ ६ लाख रुपैया छुट्याइएको वडाध्यक्ष शाहीले जानकारी दिए ।

वडाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वडा बासिका आवस्यकताका आधारमा योजनाहरु ल्याएको उनले बताए । वडाले नागरिक सचेतना केन्द्र स्थापना गर्न पहल गर्ने र त्यसका लागि वडा कार्यालयमा सुचना केन्द्र स्थापनाका गर्न लागि विशेष पहल गर्ने, वडामा रहेका मूल सडकमा कालो पत्रेका लागी नगरपालिका, प्रदेश सरकार र संघ सरकार समक्ष माग गर्ने, वडा भित्र रहेका ऐलानी प्रति जग्गाको नापनक्साको कार्य सम्पन्न भईसकेकाले जग्गाधनी प्रमाण पुर्जा यथाशिघ्र उपलब्ध गराउन पहल गर्ने, गरिवीको रेखा मुनि रहेका जनताहरुका लागी आयआर्जन कार्यकम संञ्चालन गर्ने लगायतका नीति तथा कार्यक्रमहरुलाइ अगाडि सारेको छ ।

यसैगरी सामुदायिक बनलाई प्रभावकारी बनाई विभिन्न आय आर्जनका कार्यक्रम गर्ने, सम्पूर्ण बिद्यालयको स्तरोन्नती, भौतिक संरचनाको निर्माण गर्नका साथै प्राबिधिक शिक्षाको लागी सम्बन्धित निकायमा जोडदार माग गर्ने, तरकारी तथा फलफुलको माग लाई पूर्ति गर्न तरकारी तथा फलफुलको पकेट क्षेत्र निमार्ण गर्न बिशेष जोड दिने, डुबान हुने समस्या र नदी कटान नियन्त्रणका लागी पहल गर्ने, वडामा रहेका सडक न्यूनतम २० फिट चौडा गरि सडक विस्तार गर्न आवश्यक पहल गर्ने, विद्युत लाईन नपुगेका बस्ती तथा घर–घरमा बिजुली बत्तीको विस्तारमा ध्यान दिने तथा वडालाइ नमुना वडाको रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने योजनाहरु पनि वडाको नीति तथा कार्यक्रम मा अटाएका छन ।
वडाले लक्षित वर्गसमुदायका लागी आयआर्जन तथा सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने देखी लिएर सरफाई अभियान संचालन गर्ने, वडामा रहेका धार्मिक, पर्यटकीय र साँस्कृतिक क्षेत्रहरुको गुरु योजना तयार गरी पर्यटन प्रर्वद्धन कार्यलाई अगाडी बढाउने, सुरक्षित ढलनिकासका लागि व्यवस्थीत नाली निर्माण गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई कामको मूल्याकन गरि उचित पुरस्कार र काम नगर्ने शिक्षकलाई आवश्यक कार्वाहीको प्रकृया अगाडी बढाउने, निजी तथा सरकारी विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने लगायत स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिने कुरालाई पनि अघि सारेको वडाध्यक्ष शाहीले बताए । उनले आगामी आर्थिक वर्षमा वडा कार्यालयको भवन निर्माणको काम अघि बढाउने गरी प्रयास थाल्ने पनि बताएका छन ।



















