अत्तरिया – सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर १४५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परी १ सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी १ सय ४५ जनाको मृत्यु भएको हो । सो अवधिमा ३ सय ३८ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

जसमा १ सय ७५ मोटरसाइकल, ४४ जिप–कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा, १६ टेम्पो, १४ ट्रक–ट्याङ्कर, सात टिपर, ७ माइक्रो, ३ वटा डोजर र चार अन्य दुर्घटना भएका छन । गत आर्थिक वर्षमा २ सय ५५ सवारी दुर्घटनामा परी १ सय ७७ जनाको मृत्यु भएको थियो ।

यसैबिच ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४ करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा प्रदेशभरि ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार ९ सय ३१ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा १ लाख १२ हजार ६ सय ५५ सवारीसाधनलाई कारवाही गरी ६ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो ।



















