काठमाडौं – आर्थिक वर्ष २०८५/८६ सम्म बेरोजगारी दर ५ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पु-याउने जनाएको छ ।
आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पु¥याउने लक्ष्य पनि आयोगले लिएको छ । २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य १६औं योजनाले लिएको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ ।


मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य १६ औं योजनाले लिएको हो । यस्तै औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पु-याउँने लक्ष्य लिइएको छ ।
यस्तै विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पु¥याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पु¥याउने लक्ष्य लिएको छ । १६औं योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ । चालु आव ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भइसकेको छ ।
आगामी आव २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य १६औं योजनाले लिएको छ ।

















