खाेज्नुहाेस

व्यवसायीले अत्तरिया उद्योग वाणिज्य संघलाई टेर्न छोडे, बन्दको सूचना कार्यान्वयन भएन

Image

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघले गरेको प्रत्येक महिनाको १५ र २८ गते बजार बन्द गर्ने निर्णय कार्यान्वयन हुन सकेको छैन । विगतदेखि नै उक्त दुई दिन बजार बन्द हुँदै आएकोमा नयाँ कार्यसमितिले पनि बजार बन्द गर्ने निर्णय गरेको भए पनि व्यापारीहरूले भने सूचनाको अवज्ञा गर्दै पसल खोल्ने गरेको पाइएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघले २०८० साउन १४ गते सूचना जारी गर्दै व्यवसायीक एकताका लागि प्रत्येक महिनाको १५ र २८ गते बजार बन्द गर्ने निर्णय गरेको थियो । ‘विगत लामो समयदेखि यहाँका स्थानीय उद्योगी व्यापारीहरूको राय सुझाव अनुसार व्यवसायीक एकताका लागि प्रत्येक महिनाको १५ र २८ गते बजार बन्द गरिँदै आएको हुँदा पुनः पनि १५ र २८ गतेका दिन बजार बन्द गर्ने राय सुझाव सङ्कलन भई आएकोले सोही बमोजिम यही महिनादेखि लागु हुने गरी अत्यावश्यक सेवा बाहेक आफ्नो व्यवसाय बन्द गरी सहकार्य गरिदिन हुन सम्पूर्ण उद्योगी, व्यवसायीहरूमा हार्दिक अनुरोध गर्दछौ’ संघले जारी गरेको सूचनामा भनिएको छ । सूचनामा भनेअनुसार संघले २०८० साउन महिनादेखि नै लागु हुने गरी उक्त निर्णय कार्यान्वयन गर्न भनेको भए पनि व्यापारीहरूले भने सूचनाको व्यवस्था गरेर पसलहरू खोल्ने गरेका छन् ।

attariya hospital
navjiwan hospital

अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले पछिल्लो केही समय यता देखिएको आर्थिक मन्दीका कारण व्यापारीहरू पसल बन्द गर्ने पक्षमा नरहेको बताए । ‘व्यापार व्यवसाय छैन, आर्थिक मन्दीका कारण पसलको भाँडा तिर्न समेत समस्या छ’ उनले भने ‘यस्तो समयमा पसल बन्द गर्न व्यापारीहरू अप्ठ्यारो मानिरहेको अवस्था छ ।’ उनले सङ्घप्रतिको व्यापारीहरूको विश्वास घटेका कारण पनि व्यापारीहरूले सूचनाको उल्लङ्घन गरिरहेको बताए ।

उनले विगतदेखि नै व्यापारीहरूले प्रत्येक महिनाको १५ र २८ गते पसल बन्द गर्ने गरेको भए पनि पछिल्लो केही महिना यता सङ्घकै गलत प्रवृत्तिका कारण सूचनाको समेत उल्लङ्घन हुने गरेको बताए । ‘निर्वाचित भएर आएपश्चात् हामीले सूचना निकालेपछि व्यापारीहरूले सूचनालाई आधार मानेर महिनाको दुई दिन पसल बन्द गर्ने गर्नुभएको थियो’ उनले भने ‘तर पछिल्लो केही महिनायता संघमा देखिएको विकृतिका कारण व्यापारीहरू पनि संघ देखि आजित भैसकेका छन्, उनीहरूले संघ नै खारेजीको माग गर्न थालेका छन् ।’ उनले व्यापारीहरूको हकहितका लागि निर्वाचित भएर आएको नयाँ समितिका केही व्यक्तिहरूबाट समग्र अत्तरिया क्षेत्रकै बदनाम हुने किसिमका काम भएपछि व्यापारीहरूमा पनि संघ प्रतिको विश्वास घटेको बताए ।

संघले आयोजना गरेको आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएपछि र उक्त प्रकरणमा सङ्घकै केही पदाधिकारीहरूको नाम सार्वजनिक भएपछि व्यापारीहरूले संघको आलोचना गर्दै आएका थिए । व्यापारीहरूले कार्यसमितिले राजीनामा दिनुपर्ने या संघ नै खारेज गर्नुपर्ने माग राख्दै आएका छन् । सङ्घकै बदनाम हुने गरी घटेको घटनाका कारण व्यापारीहरूले संघका कुनै पनि निर्णयहरू नमानिरहेको बताइएको छ ।