अत्तरिया- बैतडीमा सडकबाट ट्याक्टर घरमाथि खसेको छ । मेलौली नगरपालिका–३ कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सुपप्र ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर स्थानीय धनी भट्टको घरमाथि खसेको प्रहरीले बताएको छ ।


ट्याक्टर दुर्घटना हुँदा भट्टको घर वरपर खेलिरहेका दुई बालिमा घाइते भएका छन् । सोही ठाउँका करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र वीरबहादुर चन्दकी ७ वर्षीया छोरी पूर्णीमा चन्द घाइते भएका र उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ढुंगा लोड गर्ने क्रममा ट्याक्टर एक्कसी दुर्घटना हुन पुगेको प्रहरीले बताएको छ । ट्याक्टर घरमाथि खस्दा घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
