अत्तरिया – अत्तरिया बजारको व्यवस्थापनका विषयमा व्यापारीहरुबिच छलफल भएको छ । शनिबार नेपाल मोबाईल व्यवसायी संघ गोदावरी नगर ईकाइले बजारको व्यवस्थापन तथा अन्य विविध विषयमा व्यवसायीहरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

इकाईका अध्यक्ष नेत्र बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गोदावरी होटल व्यवसायी संघ, चेम्बर अफ कमर्स, हार्डवेयर व्यवसायी, किराना व्यवसायी, फेन्सी व्यवसायी, अटो पार्टस व्यवसायी, सुनचाँदी व्यवसायी, विजुली व्यवसायी, भाडाँ पसल व्यवसायी, पुस्तक व्यवसायी लगायत अन्य विभिन्न व्यवसाय गर्ने व्यवसायीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

छलफलमा अत्तरिया बजारमा भएका समस्या, त्यसको व्यवस्थापन, वडा तथा नगरमा व्यवसाय दर्ता तथा बजार बन्दका विषयमा छलफल भएको नेपाल मोबाईल व्यवसायी महासंघ सुदूरपश्चिमका प्रथम उपाध्यक्ष गंगा प्रसाद निरौलाले जानकारी दिए । उनले कार्यक्रममा मुख्य गरी ३ वटा प्रस्तावहरुमा छलफल भएको बताए । ‘हामीले बजारको अवस्थालाई मध्यनजर गरी मुख्यत ३ विषयमा छलफल गरेका थियौ’ उनले भने ‘बजारमा दर्ता नभई सञ्चालनमा रहेका व्यवसायलाई अनिवार्य दर्ता गर्नुपर्ने, अत्तरिया बजार बन्द र अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा छलफल भयो, छलफलले राम्रो निष्कर्ष निकालेको छ ।’


निरौलाले अत्तरिया बजारमा रहेका कतिपय पसलहरु अझै पनि वडा तथा नगरमा दर्ता नभएकाले त्यस्ता व्यवसायीहरुले अनिवार्य रुपमा दर्ता प्रकृयामा जानुपर्ने भन्ने निर्णय भएको बताए । उनले त्यसका लागि आगामी आर्थिक वर्षदेखी दर्ता प्रकृया सुरु गरी सोही आर्थिक वर्षदेखी कर लागु गर्न सरोकारवाला निकायसँग पहलकदमी गर्ने विषयमा समेत छलफल भएको बताए । त्यस्तै अत्तरिया बजार बन्द गर्ने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो । अत्तरिया उद्योग वाणिज्य संघले प्रत्येक महिनाको १८ र २८ गते बन्द गर्ने निर्णय गरेको भएपनि कतिपय व्यवसायी संघहरुले भने महिनाको दोस्रो र चौथो शनिबार व्यवसाय बन्द गर्दै आएका थिए । सोही विषयलाई मध्यनजर गरी कार्यक्रममा महिनाको दोस्रो र चौथो शनिबार व्यवसाय बन्द गर्न उपयुक्त देखिएकाले सबैले सोही समयमा बन्द गर्नुपर्ने विषयमा छलफल भएको निरौलाले बताए ।
यद्दपी केही व्यवसायका प्रतिनिधिहरुले आफ्ना समुहहरु सित छलफल गरेर मात्रै निर्णय दिन सक्ने भनेको उनले बताए । ‘अहिले अत्तरियामा पुस्तक व्यवसायी, सुनचाँदी व्यवसायी, मोबाईल व्यवसायी लगायतका केही व्यवसायी संघहरुले महिनाको दोस्रो र चौथो शनिबार बन्द गर्दै आईरहेका छन’ उनले भने ‘उक्त समय उपयुक्त पनि भएकाले १५ र २८ भन्दा पनि सो समयमा बन्द गर्नु उचित हुने विषयमा छलफल भयो, तर केही व्यवसायका साथीहरुले समुहमा छलफल गरेर निर्णय दिने भन्नुभएको छ ।’
कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर पनि छलफल भएको निरौलाले बताए । उनले संघको निर्वाचनमा सबै व्यवसायीक क्षेत्र समेटिने गरी हरेक संगठनहरुबाट प्रतिनिधि उठाएर टिम बनाईनुपर्ने विषयमा छलफल भएको बताए । छलफलबाट सकारात्मक निर्णयहरु भएको उनको भनाई छ । कार्यक्रमको सञ्चालन इकाईका महासचिव रमेश कँडेलले गरेका थिए । यसैबिच कार्यक्रममा धान दिवसलाई लक्षित गरी शुभकामना आदानप्रदान समेत गरीएको थियो ।