अत्तरिया- कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार चट्याङ लागेर जोशीपुर गाउँपालिका–३ भितरीयाका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका बेला चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वतीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय शालिम चौधरी आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएकामा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

चट्याङ लागेर घाइते हुनेहरुमा जानकी गाउँपालिका-४ बेलपुर बस्ने २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका-६ बस्ने ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनी बस्ने ९ वर्षीया सरस्वती भुल, सोही ठाउँकी ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका प्रहरीले बताएको छ ।