अत्तरिया – सुदूरपश्चिममा पुँजी निर्माण तथा पूर्वाधार विकास र विस्तार गर्न ल्याइने पुँजीगत बजेटको हिस्सा घट्दै गएको छ । प्रदेश सरकारले ल्याउने पछिल्ला आर्थिक वर्षहरुमा यस्तो बजेटको हिस्सा घट्दै गएको हो । आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत बजेटको हिस्सा ५८.१६ प्रतिशत रहेकामा यो वर्ष घटेर ५५.४२ प्रतिशत पुगेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा २९ अर्ब २६ करोड २९ लाख ३२ हजार बजेट ल्याएकोमा चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२.७९ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थीक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याइएकोमा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार अर्थात ३५ प्रतिशत, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार अर्थात ५५.४२ प्रतिशत मात्रै रहेको छ । जसमा अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार अथाएत ९.५ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड अर्थात ०.३१ प्रतिशत विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेकोमा चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३.४६ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ अर्थात ६५.७४ प्रतिशत विनियोजन गरेको थियो ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएकोमा चालूतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ अर्थात ३५.१५ प्रतिशत र पुँजिगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ अर्थात ५८.२ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।
सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २५ अर्ब छ करोड ५६ लाख, आर्थिक वर्ष २०७६÷०७७ मा २८ अर्ब १६ करोड २० लाख ३५ हजार र आर्थिक बर्ष २०७७÷०७८ मा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार कुल बजेट विनियोजन गरेको थियो । प्रदेशमा बजेटको आकार बढ्दै गएको भएपनि पुँजीगत बजेट भने घट्दै गएको छ । यद्दपी पुँजीगत बजेट घट्दा पनि बजेट खर्चको अवस्था भने निरासाजनक रहदै आएको छ ।