खाेज्नुहाेस

कृष्णपुर नगरपालिकाले पदाधिकारीको सुविधामा खर्च ग-यो ९५ लाख ९९ हजार

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आन्तरिक आयको २० प्रतिशत रकम पदाधिकारीको सेवा सुविधामा खर्च गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाको कुल आन्तरिक आय ४ करोड ७२ लाख ७४ हजार ११२ रुपैया रहेकोमा पदाधिकारीको सेवासुविधामा मात्रै पालिकाले ९५ लाख ९९ हजार ५ सय रुपैया खर्च गरेको छ ।

जुन कुल आन्तरिक आयको २० दशमलव ३० प्रतिशत हुन आउँछ । त्यतिमात्रै नभई पालिकाले कुल बजेटकै ६६ दशमलव ७७ प्रतिशत रकम चालु शिर्षकमा खर्च गरेको छ ।

attariya hospital
navjiwan hospital

पुँजीगत खर्च नितान्त उत्पादनशील क्षेत्र, रोजगारी, भौतिक पूर्वाधार र पुँजीगत सुधारको लागि गर्नुपर्ने गर्ने गरिन्छ । विकासमा गरिने खर्च पुँजीगत खर्च हो । पुँजीगत खर्च मूलतः विकास र सुधारका लागि गरिन्छ । योजना, नीति, कार्यक्रम र बजेटमा भौतिक सुधार र परिवर्तनको लागि प्रक्षेपण गरिने खर्च पुँजीगत खर्च हो । चालु खर्च भनेको सरकारले तलब भत्ता र दैनिक कार्य सञ्चालनमा लागि छुट्याउने खर्च हो । जुन विकास निर्माणका लागि नभई कर्मचारी, प्रतिनिधिहरुको सेवासुविधाका लागि खर्च गर्ने गरिन्छ ।

तर कृष्णपुर नगरपालिकाले विकास निर्माणमा गरिने पुँजिगत भन्दा चालु खर्च दोब्बरले खर्च गरेको देखिएको हो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा पालिकालाई प्राप्त भएको सबै अनुदान र राजश्व बाँडफाँडको रकमबाट ६६ दशमलव ७७ प्रतिशत चालु र ३३ दशमलव २२ प्रतिशत मात्र पूजिँगत खर्च गरेको देखिएको उल्लेख गरिएको छ ।

यसबाट पालिकाले विकास निर्माण प्रयोजनमा न्यून खर्च गरेको र प्रशासनिक प्रयोजनमा बढी खर्च भएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजश्व बाँडफाँडको रकम अधिक रुपमा विकास निर्माणको प्रयोजनमा परिचालन गर्न नगरपालिकालाई सुझाव दिएको छ ।