खाेज्नुहाेस

धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमको खेलकुद मन्त्री श्रेष्ठद्वारा औपचारिक उद्घाटन

Image

धनगढी – धनगढी उप–महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सद्वारा सञ्चालित ‘धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम’ को उद्घाटन गरिएको छ । मङ्गलवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

धनगढी–१८ फूलबारी स्थित चन्द्रोदय मा.वि.मा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री श्रेष्ठ, धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमको आधिकारिक जर्सी सार्वजनिक गर्दै खेलाडीहरू लाई हस्तान्तरण समेत गरेका छन् ।

attariya hospital
navjiwan hospital

यो कार्यक्रम पहिलो चरण अन्तरगत धनगढी उप–महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयमा सञ्चालन हुदै आईरहेको छ । उपमहानगरपालिकाको वडा नंं. १८ स्थित चन्द्रोदय मा.वि. फूलबारी र वडा नं. १२ स्थित सिद्धनाथ मा.वि. जुगेडा मा २०८० माघ देखी दुई जना प्रशिक्षकले प्रशिक्षण गर्दै आइरहेको भए पनि केही ढिला गरी औपचारिक उद्घाटन गरिएको हो । मन्त्री र मेयरको संयुक्त टोलीले दुई ओटै विद्यालयमा क्रिकेट प्रशिक्षण स्थलको अनुगमन पनि गरेका थिए ।

कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका मेयर हमालले सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्की रहेको परिपेक्षमा ग्रामीण भेगका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार सँगै अतिरिक्त सिकाइमा पनि अब्बल बनाउन यो कार्यक्रम लागु गरिएको बताए । उनले अहिले दुई विद्यालयमा मात्रै सञ्चालन गरिए पनि आगामी दिनहरूमा अन्य नमुना विद्यालयहरूमा समेत सञ्चालन गर्ने तयारी रहेको हुँदा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्नु पर्नेमा जोड दिए ।

यस्तै, प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुद मन्त्री श्रेष्ठले १५ वर्ष पछि खेलाडी उत्पादन गर्नलाई दूर दृष्टि राखेकोमा धनगढी उप–महानगरपालिकाका मेयर हमालको प्रशंसा गरे । उनले मन्त्रालयले गर्नुपर्ने जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको भन्दै प्रतिबद्धता व्यक्त गरे । ‘१० देखी १५ वर्ष पछि उत्पादन हुने खेलाडीको लागी अहिलेबाट सोच्नु ठुलो कुरा हो’ उनले भने ‘सुदूरपश्चिम धनगढी पहिले देखी नै खेलाडी उत्पादन गर्दै आइरहेको छ, देशको लागी । मन्त्रालयको तर्फबाट प्रशंसा गर्दछु र आवश्यक सम्पूर्ण सहयोग गर्ने छु’ मन्त्री श्रेष्ठले भने ।

maya metro hospital

त्यस्तै, गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले धनगढीका सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । उनले कार्यक्रमबाट निकट भविष्यमा नेपाललाई प्रतिनिधित्व गर्ने थुप्रै मेहनती तथा अनुशासित खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे । उक्त उद्घाटन कार्यक्रममा विद्यालयका अन्य विद्यार्थी तथा अभिभावकहरू, शिक्षक, क्यानका का पदाधिकारी व्यवस्थापन समिति अध्यक्ष, वडा अध्यक्ष धनगढी उपमहानगरपालिका का कर्मचारी लगायत क्रिकेट प्रेमीहरूको उपस्थिति रहेको थियो ।