यू–१९ सुदूरपश्चिम छनोटमा कैलालीको विजयी शुरुवात

धनगढी – वाईवाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा समूह ‘बी’ को दोस्रो खेलमा कैलाली विजयी भएको छ । आइतबार सम्पन्न खेलमा कैलालीले अछामलाई ८ विकेटले हरायो । अछामले दिएको १०१ रनको लक्ष्य कैलालीले २ विकेट गुमाउँदै पूरा ग¥यो । जसमा क्रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनको योगदान गरे ।

maya metro hospital

अछामका युवराज खत्री र निराजन गौतमले १/१ विकेट हात पारे । त्यसअघि परशुराम नगरपालिका–१२ स्थित जोगबुढा रंग मैदानमा पहिला ब्याटिङ गरेको अछाम २८.२ ओभरमा १०० रनमा अलआउट भयो । यसमा रविन भण्डारीले ४३ रन जोडे पनि अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

कैलालीका दीपक रोकाया एक्लैले ६ विकेट हात पारे। खेलका म्यान अफ द म्याच चुनिएका दीपकले ८.२ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ६ विकेट हात पारेका हुन् । प्रतियोगिता अन्तर्गत भोलि कञ्चनपुर र बझाङ भिड्ने स्कोरर लोकेश जोशीले जानकारी दिए । समूह ‘बी’बाट शीर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसँग भिड्नेछ। समूह ‘ए’बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।

attariya hospital

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।

दुबै समूहबाट शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.