अत्तरिया – कैलालीको अत्तरियामा जारी भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उपाधीका लागि अत्तरियाको टिम माईकिज क्याफे र धनगढीको अनुपमा अलराउन्डर्स भिड्ने भएका छन ।
बुधबार भएको सेमिफाईनल खेलमा महेन्द्रनगर ब्वाईजलाई पराजित गर्दै टिम माईकिज क्याफे फाईनलमा प्रवेश गरेको थियो भने बिहिबारको खेलमा गुलरिया बुल्सलाई पराजित गर्दै अनुपमा अलराउन्डर्सले आफ्नो फाईनलको यात्रा तय गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको अनुपमाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६९ रन बनायो । उसका लागि सुर्यकमल श्रेष्ठले ३६, आशिष धामीले २९ तथा सुरज चन्दले २५ रनको योगदान दिए । बलिङमा गुलरिया बुल्सका युनिष खानले ४ ओभर बलिङ गर्दे ३३ रन खर्चिएर ३ विकेट लिए भने गोबिन्द भट्ट, सुभाष तिमल्सीना र कृष्ण चौलागाईले समान २/२ विकेट लिए ।
१७० रनको लक्ष्य पछ्याएको गुलरिया बुल्स १६ दशमलव २ ओभरमा १ सय रनमै समेटियो । गुलरिया बुल्सका रमेश ढुंगानाले २९, सुमित चन्दले २० र सुभाष तिमल्सीनाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुलरिया बुल्सका ४ जना खेलाडी शुन्यमा आउट भएका थिए ।
बलिङमा अनुपमा अलराउन्डर्सका ओम प्रसाद जोशी र मनोज घटालले ३÷३ विकेट लिए भने देवराज पनेरुले २ तथा लेखनाथ शर्मा र महेन्द्र चन्दले १/१ विकेट लिए । प्रतियोगिताको फाईनल खेल शनिबार हुने बताईएको छ ।