काठमाडौँ- कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । दोहोरो नागरिकताको आरोपमा मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो ।
उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे न्यायाधीश चुडामणि खड्काको इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरे उनी हिरासतमा रहनेछन् भने अस्विकार गरे रिहा हुनेछन् ।
सिरोहिया पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन समेत भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा भेला भएकाहरुले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश सिरोहियालाई रिहा गर’ नारा लगाएका थिए ।