अत्तरिया – कैलालीको अत्तरियामा बुधबार बाट सुरु भएको भेट्रान्स कप क्रिकेट प्रतियोगिताको पाँचौ संस्करणमा गुलरिया बुल्सले विजयी सुरुवात गरेको छ । बुधबार अत्तरियाको टिम माईकिज क्याफेलाई ६ विकेटले हराउदै गुलरिया बुल्सले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।


टस हारेर ब्याटिङको निम्तो पाएको टिम माईकिज क्याफेको सुरुवात राम्रो हुन सकेन । ईनिङको पहिलो बलमै विकेट गुमाउँदा टिम माईकिज प्रेसरमा आएको थियो । सुरुमै टिम प्रेसरमा आउँदा त्यसपछिका खेलाडीहरुले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । तर खेलाडी ललित प्रसाद कलौनी (२२ रन) भुवन केसी (२० रन) र समिर आचार्य (१६ रन) को मद्दतले टिमले १३९ रन बनाउन सक्यो । बलिङमा गुलरिया बुल्सका खेलाडी सुवेश तिमल्सीनाले ३ तथा भरत कुँवर र सोवित चन्दले २/२ विकेट लिए ।

१४० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको गुलरिया बुल्सले १८ दशमलव ५ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । गुलरिया बुल्सलाई जिताउन ओपनर सुमित चन्दले अविजित ८२ रनको पारि खेले । त्यसबाहेक रमेश ढुंगानाले १७ र सुवेश तिमल्सीनाले १३ रन बनाए । बलिङमा टिम माईकिज क्याफेबाट सुनिल सुनारले २ विकेट लिए भने भुवन केसी र प्रदिप तिवारीले १/१ विकेट लिए । अविजित अर्धसतक बनाएका गुलरिया बुल्सका ओपनर सुमित चन्द खेलको म्यान अफ द म्याच चुनिए । उनले आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगीता अन्र्तगत आज दिउँसो ३ बजे गेटा ब्लास्टर र अनुपमा अल्राउन्डर्स बिच प्रतिष्पर्धा हुने खेल संयोजक रजत शाहीले जानकारी दिए ।