अत्तरिया- कञ्चनपुरको बेलौरी नगरपालिका ४ नम्बर वडा कार्यालयले व्यापारीहरुलाई १८ वर्षमुनिका बालबालिकालाई नसालु पदार्थ नबेच्न भनेको छ । नगरपालिकाले चेतावनीसहितको सूचना जारी गर्दै १८ वर्षमुनिका बालबालिकालाई नसालु पदार्थ बेच्न नपाइने जनाएको हो ।

उमेर नपुगेका १८ वर्षमुनिका बालबालिकाहरुलाई लागुऔषध, धुम्रपान तथा मदिरा विक्रीवितरण गर्न नपाइने, कानुनविपरीत अवैध रुपमा मदिरा उत्पादन, ओसारपसार तथा विक्रीवितरण गर्न नपाइने, अनुमति पत्र लिएकाले मात्र साँझ ५:३० बजेदेखि राति १० बजेसम्म नियमानुसार मदिरा विक्रीवितरण गर्न पाइने, अनुमति पत्र नलिई तथा समयको पालना नगरी जथाभावी मदिरा विक्री गरेको पाइए जफत गरिनुका साथै कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

लागुऔषध, धुम्रपान तथा मदिरा सेवनबाट ठुलो जनधनको क्षति हुनुका साथै विकृति बढ्दै गइरहेकाले सर्वसाधारणको हित र स्वास्थ्यलाई मध्यनजर गर्दै वडाभित्र लागुऔषध, धुम्रपान तथा मदिरा नियन्त्रण र व्यवस्थित गरी विकृति, विसङ्गति हटाई सुरक्षित र सभ्य समाज निर्माण गर्ने उद्देश्य लिइएको जनाइएको छ ।