धनगढी – कैलाली भन्सार कार्यालय धनगढी लक्ष्य भन्दा कम राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८ अर्ब ५६ करोड ६४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ५ अर्ब ७३ करोड ४३ लाख मात्रै राजस्व सङ्कलन गरेको हो ।

जसमा भन्सार महसुलतर्फ २ अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ १५ करोड ६ लाख र अन्यतर्फ १ अर्ब ६ करोड ५१ लाख राजस्व सङ्कलन गरिएको भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको छ । तर, ९ महिनाको अवधिमा लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत मात्रै राजश्व सङ्कलन भएकोले लक्ष्य भेटाउन मुस्किल हुने देखिएको छ ।
भन्सार कार्यालयले गत आवमा पनि लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको थियो । गत आवमा १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब २९ करोड ६३ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।

















