आज चैते दर्शै, निङ्गलाशैनी भगवती मन्दिरमा मेला लाग्दै
अत्तरिया – आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । आज बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा मेला लाग्दै छ । चैतेदशैंको अवसर पारेर निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष मेला लाग्ने गरेको छ ।
चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य मेला (जात्रा) लाग्ने निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले जानकारी दिए । चैते नवरात्रीको अवसरमा मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको उनले बताए ।