अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ मा सञ्चालित होजियारी तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका को आयोजनामा यही फागुन ११ गतेदेखी सुरु भएको उक्त तालिम एक कार्यक्रमका बिच बुधबार सम्पन्न भएको हो ।
वडाध्यक्ष रामलाल रानाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट रहेका थिए । नगरपालिकाको आयोजनामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उक्त ४५ दिने तालिम सञ्चालन भएको थियो ।
तालिममा ११ जना को सहभागीता रहेको नगरपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता दिपेन्द्र कुमार ओलीले जानकारी दिए । कार्यक्रममा तालिममा सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि मेसिन तथा औजारहरु पनि हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार तालिममा सहभागीहरुलाई होजियारी मेसिन १ सेट, सिलाई मेसिन १ सेट र ईन्टरलक मेसिन १ सेट वितरण गरिएको थियो ।
‘सुखी नेपाली समृद्ध नेपाल, उद्यम नै जिउने बलियो आधार’ भन्ने मुल नाराका साथ आयोजित तालिमले वडामा स्वरोजगारको सृजना गर्न मद्दत मिल्ने अपेक्षा लिईएको छ । त्यसबाहेक उक्त वडामा अचार बनाउने तालिम, दुनाटपरी बनाउने तालिम र हाउसवायरिङ्ग तालिम पनि सञ्चालनमा रहेको ओलीले बताए । ति तालिममध्ये अचार बनाउने तालिममा १० जना, दुनाटपरीमा १२ जना र हाउसवायरिङ्गमा १० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।