कञ्चनपुर — भारत नैनीतालमा गाडी (जिप) दुर्घटना हुँदा मृत्यु भएका ७ नेपाली नागरिक बर्दियाको बबईका भएको खुलेको छ । नैनीतालमा रहेको बेतालघाट थानाका इन्चार्ज अनिस अहमदका अनुसार उनीहरु सबै बर्दियाका हुन् ।

उनका अनुसार बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु सोमबार साँझ घरतर्फ हिडेका हुन् । बिहान खानेपानी आयोजनाको काम सकिएपछि उनीहरु सबै गाडी बुक गरेर हल्द्वानी निस्किन थालेका थिए ।

‘जीप ५ मिटर पनि हिँडेन, २ जना त गाडीमा चढेकै थिएनन्, एक्कासी भीरमा खस्यो,’ इन्चार्ज अहमदले भने, ‘गाडीमा ९ जना कामदार र चालक मात्रै थिए, केही उनीहरुका लुगाकपडा र भाडाकुँडा थिए ।’ उनका अनुसार दुर्घटनाको कारण पत्ता लागेको छैन । गाडी भिरालोमा उभिएका कारण नियन्त्रण हुन नसकी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनामा परि चालक सहित ८ जनाको मृत्यु भएको छ । जसमध्ये ७ जना नेपाली रहेका छन् । युके ०४ सीसी ०४९५ नम्बरको बुलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।
थाना इन्चार्ज अहमदका अनुसार उच्चाकोटमा खानेपानी आयोजनाको काम सकिएपछि नेपाली कामदारहरु सोमबार साँझ नै घर फर्किन लागेका हुन् । उनीहरु भवाली हुदै हल्द्वानीका लागि निस्किने तयारीमा थिए । घाइते शान्ति चौधरी र छोटु चौधरीको तिवारी राजकीय अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ ।

[…] अपडेट : नैनितालमा गाडी दुर्घटना हुँदा मुत्यु… […]