कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
अत्तरिया- कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१ त्रिवेणीघाट, धनगढी-२ ट्राफिक चौराह नजिकबाट र भजनी नगरपालिका-६ महादेउलीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६३ हजार ६८० मूल्यको प्याज, चिनी, बिष्कुट, चप्पल, तेल, पानीपुरी लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासाल, बेलौरी नगरपालिका-१ फटैया र बेलौरी-६ नकैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७८ हजार १७५ मूल्यको प्याज, मिठाई, बिष्कुट, ललिपप, जिरा, लत्ताकपडा लगायतका सामान प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।