कञ्चनपुर – कञ्चनपुरमा एकै दिन दुई घरमा आगलागी भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका – १ पशुपती टोलमा र बेल्डाडी गाउँपालिका–२ चन्दनबस्तीमा रहेका घरमा एकैदिन आगलागी भएको हो ।

पशुपती टोलका हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट भाडावर्तन, लत्ताकपडा अन्नपात लगायतका सामान जलि अन्दाजी पाँच लाख बराबरको क्षती भएको छ । आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

चन्दनबस्तीका दले दमाईको १ तले कच्ची घरमा आगो सल्किन गई आगलागीबाट अन्दाजी ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट मानविय तथा चौपाया क्षती भने केही नभएको प्रहरीले जनाएको छ ।

यसैबिच कञ्चनपुरमै आईतबार एउटा गोठमा पनि आगलागी भएको छ । कृष्णपुर नगरपालिका– ४ किचाहीमा भागरथी बिष्टको काठले बनेको गाई गोठमा आगलागी भएको हो । आगलागीबाट गोठभित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको छ भने अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएकाप्रहरीले जनाएको छ ।