अत्तरिया – कैलालीको अत्तरियामा मानव अधिकारकर्मीहरूका लागि ३ दिने क्षमता विकास तालिम सुरु भएको छ । दलित विकास सेवा केन्द्रको दलित सशक्तीकरण परियोजना अन्तरगत तालिम सुरु भएको हो । तालिमको शनिवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी बिकको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो ।
तालिमको उद्घाटन सत्रमा बोल्दे उनले दलित विकास सेवा केन्द्रले समाज परिवर्तनमा ठुलो भूमिका खेलेको बताइन् । उनले राजनिति परिवर्तनमा दलित समुदायको ठुलो भूमिका भए पनि अझै दलित समुदायले अपेक्षा अनुसार परिवर्तनले अनुभूति गर्न नपाएकाले बताइन् ।
‘राजनीतिक परिवर्तन सँगै समावेशी लगायतका केही राजनीतिक परिवर्तन भए पनि दलित समुदायको अवस्थामा त्यति धेरै परिवर्तन आएको छैन’ उनले भनिन् ‘अहिले समाजका परिवर्तनका लागि युवाहरू अगाडि बढ्न जरुरी छ ।’
उनले दलित समुदायका लागि लक्षित कार्यक्रम वैज्ञानिक, प्रविधिमैत्री हुनुपर्ने बताइन् । उनले दलित समुदाय राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रमा अगाडि बढाउन आवश्यक रहेको बताइन् । उनले आफू पनि समाजमा दलित समुदाय माथि हुने विभेद विरुद्धको आवाज उठाउँदै गर्दा राजनीतिमा होमिन पुगेको बताइन् ।
दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकले दलितको क्षेत्रमा केही सुधारका काम भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले दलित समुदायको अधिकारका लागि दलित समुदाय नै अघि बढ्नुपर्ने बताए ।
तालिम चैत्र २६ गते सम्म सञ्चालन हुने दलित सशक्तीकरण परियोजनाका संयोजक कृष्ण बहादुर विकले बताए । उनले ओलानी क्षेत्रमा रहेको जातीय विभेद अन्त्य गर्नको लागि २०६१ सालमा स्थापना भएको दलित विकास सेवा केन्द्रले हाल द फ्रिडम फण्डको सहयोगमा गोदावरीका १२ वटै वडामा कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले मानव अधिकारकर्मी तालिमका लागि नगरका १२ वटै वडाबाट ३० जनालाई सहभागी गराइएको बताए ।
उनले सहभागीलाई दलित सम्बन्ध सरकारका नीति नियम, दलित क्षेत्रमा काम गर्ने संयन्त्र, दलितका हक अधिकार तथा कार्यक्रमका बारेमा उच्च स्तरीय तालिम दिन लागिएको बताए ।
उनले परियोजना अन्तरगत आगामी दिनमा दलित जनप्रतिनिधिको क्षमता विकास, सबै क्षेत्रमा दलितको सहभागिता कार्यक्रम, अन्तर जातीय संवाद, धामी झाँक्री संवाद लगायत प्रदेश स्तरीय मञ्च स्थापना गर्ने लगायतका कार्यक्रम गरिने बताए ।
तालिममा अधिवक्ता झंकर कुवर, विनोद कडारा, टेक विक लगायतले प्रशिक्षण दिने जनाइएको छ । दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण विकले गरेका थिए । तालिममा वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव विक लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।