अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा म्याराथन प्रतियोगीता हुने भएको छ । नगरपालिकाको वडा नं. ५ मा रहेको ब्राईट नेपाल युवा क्लबले नयाँ वर्ष २०८१ को अवसरमा पहिलो पटक म्याराथन प्रतियोगीता आयोजना गर्न लागेको हो ।

‘सामाजिक विकृति एवम् लागु औषध दुव्र्यसनीको विरुद्धमा अब कृष्णपुर दौडिन्छ निरन्तर’ भन्ने मुल नाराका म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको क्लबकी अध्यक्ष प्रेरणा पाण्डेयले जानकारी दिईन । उनले म्याराथन मार्फत पछिल्लो समय विकृतिका रुपमा फैलिएको लागुऔषधको नियन्त्रण र नियमनका लागि क्लबले आवाज उठाउने बताईन ।


‘विगत केही समय यता लागुऔषधको कारोबार र प्रयोग एकदमै बढेको छ, सिमा नजिकका क्षेत्र भएकाले पनि एउटा नगरमा मात्रै नभई चारैतिर यसको प्रभाव परेको छ’ उनले भनिन् ‘दैनिक जसो पक्राउ पर्ने क्रम जारी रहेपनि अझै यसको नियन्त्रण हुन नसकेकाले यसको नियन्त्रणमा स्थानियस्तरबाट पनि आवाज उठाउनुपर्छ भन्ने सन्देश दिनका लागि हामीले प्रतियोगीता आयोजना गर्न लागेका हौ ।’

उनले प्रतियोगीताले आम समुदायमा लागुऔषधको कारोबार र यसको प्रभावले पर्ने असरहरुका बारेमा समेत जानकारी दिईने बताईन । ३ र ७ किलोमिटर गरी प्रतियोगीता दुई चरणमा आयोजना हुने भएको छ । ३ किलोमिटर म्याराथन प्रतियोगीता नगरपालिकाको गुलरियाबाट सुरु भई २ नं. चौराह हुदै पुनः गुलरिया चोकमा समापन हुनेछ भने ७ किलोमिटर म्याराथन प्रतियोगीता नगरपालिकाकै वडा नं. २ वाणी चोकदेखी सुरु भई गुलरिया चोकमा समापन हुने छ ।
३ किलोमिटरको म्याराथन प्रतियोगीताका विजेताहरुलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको क्लबका सचिव कुवेर खड्काले जानकारी दिए । उनले ७ किलोमिटर म्याराथनमा भने प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गरिने बताए । प्रतियोगीता बिहान ७ बजेदेखी सुरु हुने बताईएको छ ।