अत्तरिया – कैलालीको गोदावरीका दलित महिलाहरू स्वरोजगार बन्न अग्रसर हुन थालेका छन् । चुलो–चौकोमा सीमित रहने महिलाहरू पछिल्लो समय खालि समयको सदुपयोग गर्न विभिन्न स्वरोजगार मूलक सिप सिक्न अग्रसर हुन थालेका छन् । स्थानीय सरकारले वर्षेनी बजेट विनियोजन गरेर विभिन्न सीपमूलक तालिम सँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न थालेपछि दलित महिलाहरुहरु पनि स्वरोजगार बन्न अग्रसर हुन थालेका हुन ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
दलित अगुवा राजु विकले बजार क्षेत्रमै बस्ने दलित महिलाहरू पनि उद्यम, रोजगार सँग नजोडिएको अवस्थामा पछिल्लो समय जागरूक हुन थालेको बताइन् । उनले रोजगारी नभएका कारण घर चलाउन समेत धौ–धौ पर्ने अवस्था आउने गरेकोमा पछिल्लो समय वडा, पालिकाबाट पाउने तालिमले केही महिलाहरू स्वरोजगार बन्न थालेको बताइन् । दलित महिला कृषक बचत समूहकी अध्यक्ष समेत रहेकी उनले वडाबाट दलित महिलाहरूका लागि डल, अचार बनाउने तालिम दिएर केही महिला स्वरोजगार बन्न सफल भएको बताइन् ।
‘गत वर्ष हामीले वडा नम्बर १ को सहयोगमा यस क्षेत्रका दलित महिलाहरूलाई डल बनाउने तालिम दिएका थियौ । त्यसबाट हाल २–३ जना स्वरोजगार भएका छन्’ उनले भनिन् ‘यस वर्ष पनि दलित महिलाका लागि अचार बनाउने तालिम दिएको थियो । जसबाट केही महिलाहरूले उद्यम सुरु गर्ने बताएका छन् । यस्ता तालिमले समाजमा पछाडि परेका दलित महिलालाई अगाडि बढ्न सहयोग पुग्छ ।’
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)
अचार तालिम लिएकी चाँदनी परियारले तालिम पछि उद्यम गर्ने योजना बनाएको बताइन् । उनले टोलका महिलाहरू मिलेर घरमै अचार उत्पादन गरेर बिक्री गर्ने योजना रहेको बताइन् । ‘तालिमबाट हामीले ४–५ किसिमका अचार बनाउन सिकेका छौ’ उनले भनिन् ‘अब हामी टोलमा तालिम सिकेका महिलाहरू मिलेर अचारको उत्पादन र बजारीकरण गर्ने योजना बनाएका छौ ।’
गोदावरी – १ की कमला देवी सार्कीले गाउँघरमै पाइने सामग्रीबाट अचार बनाउन सिकेको बताइन् । उनले घरमै अचार उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना सुनाइन् ।
स्थानीय देवकी विकले दलित महिला सशक्तीकरणको लागि वडाले कार्यक्रम ल्याए पनि बजेट धेरै न्यून भएको बताइन् । उनले पछाडि परेका दलित महिलालाई स्वरोजगार बन्न वडाबाट वार्षिक छुट्याउने बजेट वृद्धि गर्नुपर्ने बताइन् ।
विगत ४ वर्षदेखि अचार बनाउने तालिम दिदैं आएकी धर्मा देवी धामीले गृहिणी महिलाहरूलाई स्वरोजगार बनाउन अचार बनाउने व्यवसाय निकै सहज भएको बताइन् ।
उनले थोरै लगानीमा पनि यो व्यवसाय गर्न सकिने भएकाले पछिल्लो समय महिलाहरूको आकर्षण पनि बढ्दै गएको बताइन् । ‘यो व्यवसाय गर्न धेरै ठाउँ पनि चाहिँदैन, थोरै लगानीमा गर्न सकिने यो व्यवसाय घरको काम सँग सँगै पनि महिलाहरूले गर्न सक्छन्’ उनले भनिन् ‘अमिलो, लसुन अदुवा, खुर्सानी, मासु लगायतका स्थानीय स्तरमै सहजै उपलब्ध हुने सामग्री प्रयोग गरेर अचार बनाउन सकिन्छ ।’
गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले पछाडि परेका समुदायको उत्थानका लागि नगरपालिका लागिपरेको बताए । उनले सीमित बजेट भएका कारण भने सोचेअनुसार काम गर्न नसकिएको भए पनि लक्षित वर्गलाई हरेक वर्ष कार्यक्रममा समेट्ने गरिएको बताए ।