व्यवसायीक कृषक उत्पादनमा जोड दिँदै गोदावरी कृषि सहकारी

साबिक गोदावरी गाविस मा व्याप्त चरम गरिबी, विभेद, असमानताको चपेटामा रहेका विपन्न वर्ग एवम् दलित समुदायलाई लक्षित गरी २०६९ साल असोजमा गोदावरी कृषि सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । गोदावरी नगरपालिकाकै विकट क्षेत्रका रूपमा हेरिने ओलानीका विपन्न र दलित समुदायहरुले साहुजनबाट लिएको ऋणको मासिक १०/१५ प्रतिशत चर्काे ब्याज तिर्नुपर्ने अवस्थालाई चिर्न दलित विकास सेवा केन्द्र मार्फत २०६७ सालमा आयआर्जन, सीप, शिक्षा, पैरवीलाई मुख्य आधारमानी गरिबी निवारण कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रम अन्तर्गत रहेको आयआर्जन शीर्षकलाई मुख्य आधारमानी तत्कालीन समयमा सो क्षेत्रका स्थानीयहरूबाट मासिक १५ रुपैयाँ बचत गरी कोष स्थापना गरियो ।
साहु महाजनको चर्काे ब्याजबाट त्यस क्षेत्रका विपन्न व्यक्तिलाई मुक्त गर्न, सीप भएकाहरूलाई सहुलियत व्याजमा ऋण प्रवाह गरी सीपको प्रवर्द्धन गर्न र आयआर्जनमा जोड्न तथा थोरै भए पनि महिलाहरूमा बचत गर्ने बानीको विकास गराउनु कोषको मुख्य लक्ष्य थियो । गरिबी निवारण कार्यक्रमको रूपमा २०६७ देखी २०६९ सम्म विभिन्न क्रियाकलाप सञ्चालन गरी कोष बढाउने काम भयो । कोष बढ्दै गएपछि कोषलाई व्यवस्थापन गर्न सहकारीमा रूपान्तरण गर्नुपर्ने अवस्था महसुस भएपछि उक्त सहकारी स्थापना भएको हो । सहकारीले हाल सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ को अधीनमा रही आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको छ । विशेष गरी सहकारीमा आबद्ध सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउने योजना सहकारीको छ । सहकारीले सोही अनुरूप विभिन्न कार्यहरू पनि गर्दै आएको छ ।
परम्परागत कृषि प्रणाली अनुसार कृषि कार्य गरिरहेका सदस्यहरुलाई आधुनिक र व्यवसायी कृषिको अवधारणाका बारेमा जानकारी दिई कृषिलाई प्रविधिमैत्री बनाएर सदस्यहरूको उत्पादनमा वृद्धि ल्याउने काम सहकारीले गरेको छ । सहकारीले व्यवसायीक कृषक उत्पादन गरी सदस्यहरुलाई आर्थिक हिसाबले बलियो बनाउने देखी दिगो जीविकोपार्जनको गर्न सकिने खालका विभिन्न क्रियाकलापहरू समेत गर्दै आएको छ । विकट क्षेत्रमा स्थापना गरिएको भए पनि सदस्यहरूको हितमा गरेका विभिन्न क्रियाकलापकै कारण हाल संस्थामा ८२८ जना सेयर सदस्यहरू रहेका छन् । जसमध्ये ७५४ जना शेयर सदस्य महिला रहेका छन् । विकट क्षेत्र एकाले पुरुषहरू कामको सिलसिलामा बाहिर जाने परिपाटी रहँदा महिलाले पनि घरमै बसेर केही न केही जीविकोपार्जनका कार्य गर्न सक्छ भन्ने वातावरण सृजना गर्न सहकारीले बढी जसो महिला सदस्यहरुलाई प्राथमिकता दिएको देखिन्छ । सहकारीले महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि कृषिकै योजनाहरू बनाएको छ । जसमार्फत सहकारीमा आबद्ध महिला सदस्यहरूले पनि आर्थिक लाभ लिई रहेका छन् ।
एक समूह एक तरकारी खेती, गोठे मल खाल्डो सुधार अभियान, अनुदानमा भैँसी वितरण, बेमौसमी तरकारी खेती तालिम, धाँन गहुँको उन्नत विउ विजन वितरण तथा रासायनिक मल बिक्री वितरण, पशुपक्षी व्यवसाय प्रवर्द्धन तथा सहुलियत ब्याजदरमा बाख्रा पालनको लागि ऋण प्रवाह लगायतका काम सहकारीले गरेको छ । ती कामहरूमा पनि बढी जसो महिला सदस्यहरुलाई नै सहभागी गराइएको छ ।
सहकारीले एक समूह एक तरकारी खेती अवधारणा अन्तर्गत एक समूहमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई कम्तीमा २ कट्ठा जमिनमा तरकारी खेती अनिवार्य लगाउने नीति बनाएको छ । उक्त अवधारणा अन्तर्गत एक समूहमा कम्तीमा ३० जनाले तरकारी खेती लगाउनुपर्ने भनिएको छ । जस कारण ३० जना सदस्यहरूको ६० कट्ठा जमिनमा उत्पादन भएको तरकारी एकमुष्ट रूपमा बजारीकरण गर्न पनि सहज हुने गरेको छ । बजारीकरणको काम सहकारीले गर्दै आएको छ । त्यस्ता समूहहरूलाई सहकारीले भान्टा, खुर्सानी, भिण्डी, टमाटर तथा आलु लगायतका तरकारीहरू लगाउन लगाएको छ ।
त्यति मात्रै नभई सहकारीले अन्य विभिन्न तालिम तथा सामाजिक कार्यहरू पनि गर्दै आएको छ । सहकारीले विगत देखी नै गर्दै आएका कार्यहरूको प्रभावकारी रूपमा अनुगमन र व्यवस्थापनलाई निरन्तरता दिनुका साथै अन्य विभिन्न योजनाहरू समेत आगामी वर्षहरूमा गर्ने गरी अघि सारेको छ ।
जसमा एक समूह एक तरकारी खेतीको अवधारणा सबै समूहमा लागु गर्ने, १० बिगाहा जमिनमा ५ वटा समूह मार्फत खुर्सानी खेती गर्ने, सदस्यहरूको सहजताका लागि कृषि तथा पशु उपज सङ्कलन केन्द्र (हाट बजार) स्थापना गर्ने, ओलानी क्षेत्रमा उत्पादन हुने बाली तथा व्यवसाय पहिचानको लागि भ्यालुच्यान तालीम सञ्चालन गर्ने, सस्तो कृषि सामग्री पसल सञ्चालन गर्ने, सो क्षेत्रलाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्न प्रोत्साहन स्वरूप ९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने कार्यलाई निरन्तरता दिने, ओलानी क्षेत्रलाई पशुपक्षी विकास क्षेत्रका रुपमा विकास गर्ने, व्यवसायीक कृषक उत्पादनमा लगानी गर्ने लगायत रहेका छन् । त्यसका साथै शेयर सदस्य वृद्धि तथा कार्यक्षेत्र विस्तारका लागि प्रत्येक महिनाको अन्तिम शनिवार सहकारी शिविर सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिने, वित्तिय साक्षरता तालिम सञ्चालन गर्ने, सहकारीका समूहहरू बिच अनुभव आदान प्रदान को लागि अन्तर समूह भ्रमण गर्ने, सरकारी तथा गैर सरकारी निकायसँग समन्वय तथा सहकार्य गर्ने समेत सहकारीले योजनाहरू बनाएको छ ।
भिडियो
maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.