अत्तरिया- कैलालीमा ११७ पुरुष र ९ महिला गरी १२६ जना लागुऔषधसहित समातिएका छन् । गत माघ २७ गतेदेखि चैत ९ गतेसम्मको अवधिमा सो संख्यामा लागुऔषध प्रयोगकर्ता समातिएका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालका अनुसार सो अवधिमा लागुऔषधका ८८ ओटा मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरुको साथबाट ८५ ग्राम ४२१ मिलिग्राम खैरो हिरोइन, १७ किलो ८८६ ग्राम ६४० मिलिग्राम चरेश, स्पास्मो ७४, ट्रामाडोल ८ र पिग्रा ४० ट्याब्लेट बरामद गरिएको छ ।


त्यस्तै, अनैतिक कार्यमा संलग्न ३० महिला र १९ जना पुरुष पक्राउ गरी मुद्दा चलाइएको छ । त्यसैगरी उक्त अवधिमा अवैध ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा चोरी निकासी गरिरहेका ४८ ओटा सवारी साधन नियन्त्रणमा लिई १२ लाख २५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।
सालको कडी १२१ थान, सालको फेम ४५ थान र चितुवाको जस्तो देखिने छाला २ थान बरामद गरी वन कार्यालयमा बुझाइएको छ । अदालतबाट फैसलापछि फरार रहेका विभिन्न मुद्दाका ४२ जना सो अवधिमा पक्राउ परेका छन् । एक हजार ४८५ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ । सोही अवधिमा भन्सार छली ल्याइएको २५ लाख २३ हजार १०० मूल्यको अवैध सामान र ओसार पसारमा संलग्न सवारी साधन भन्सार कार्यालय बुझाइएको बताइएको छ ।
उक्त अवधिमा सार्वजनिक अपराधका ८२ मुद्दा, जबरजस्ति करणीका २० मुद्दा, जबरजस्ति करणी उद्योगमा ९ मुद्दा, बहुविवाहका ९, हातहतियार तथा खरखजानाका ३, बाल विवाहको १, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका १÷१ मुद्दा दर्ता भएका छन् ।
