कृष्णपुरमा छोपिएका १७ ट्याक्टरमाथि कारबाही भएन, ४ दिन देखि प्रहरी नियन्त्रणमै

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ४ दिन अघि चुरै क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै नियन्त्रणमा लिएका ट्याक्टरलाई अझै कारबाही प्रक्रियामा लग्न सकेको छैन । नगरपालिकाले चैत्र ८ गते कृष्णपुर नगरपालिका – १ को बन्द नदीबाट १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ट्याक्टर हाल इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा राखिएको भए पनि पालिकाले कस्तो कारबाही गर्ने भन्ने निर्णय लिन नसकेको हो ।

maya metro hospital

नगरपालिकाले केही दिन अघि अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइए ५० हजार जरिवाना गर्ने निर्णय गरेको भए पनि ट्याक्टर व्यवसायीको दबावमा परेको नगरपालिकाले उक्त जरिवाना गर्न सकेको छैन ।
ट्याक्टर व्यवसायीले ठेकेदारले नै नदीजन्य पदार्थ सङ्कलन गर्न भनेको ठाउँबाट उत्खनन गरेकाले कारबाही गर्न नहुने र, कारबाही गरे पनि वनको नियम अनुसार कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । वनले नै ट्याक्टर नियन्त्रणमा लिएकाले वनको नियम अनुसार १ हजार जरिवाना गरेर छोडिनुपर्ने उनीहरूको माग छ ।

ट्याक्टर व्यवसायी जनक सिंह साउँदले रोयल्टी काट्ने बाटोबाटै गएर ढुङ्गा उठाएर ल्याउँदा पनि नियन्त्रणमा लिनु गलत भएको बताए । ‘रोयल्टी काट्ने ठाउँबाट नदीमा प्रवेश गरेका थियौ । कुन सीमाना हो भन्ने हामीलाई थाहा थिएन’ उनले भने ‘पछि वन र प्रहरीको टोली गएर रोयल्टी काट्ने ठाउँको बाटोबाट आउन नदिएर अर्कै बाटोबाट तपाइहरूलाई न्यूनतम जरिवाना गर्छौ भनेर चौकीमा ल्याएको हो ।’

attariya hospital

उनले चौकी भित्र हालेपछि भने प्रहरीले कस्तो कारबाही गर्ने भन्ने निर्णय नगरी ट्याक्टर राखिएको बताए । उनले वनले वनको नियम अनुसार कारबाही गरेर छोड्छौ भन्दा पनि नगरपालिकाले अनुमति नदिएको बताए । उनले यसअघि चैत्र ७ गते वनले समाएका ट्याक्टरलाई १ हजार जरिवाना लिएर छोडिएको दाबी गरे ।

यता नगरपालिकाले भने ट्याक्टर नगरपालिकाको नियन्त्रणमा आएकाले नगरको नियम अनुसार कारबाही हुने जनाए पनि तोकिएको कारबाही गर्ने सकेको छैन ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मान बहादुर केसीले कारवाही गर्नुअघि निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए । उनले नियन्त्रणमा लिने क्रममा वन पनि सहभागी भएकाले वन सहितको बैठक बसेर निर्णय लिनुपर्ने तर्क गरे ।

वडा नम्बर १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतले बन्द नदीबाट नदीजन्य पदार्थ सङ्कलनको लागि ठेक्का भए पनि तोकिएको क्षेत्रभन्दा माथि ट्याक्टर गएकाले नियन्त्रणमा लिइएको बताए । नदीजन्य पदार्थ सहित नियन्त्रणमा लिइएका ट्याक्टर हाल अनलोड गरेर प्रहरी परिसरमा राखिएका छन् ।

कृष्णपुर नगरपालिकाले हाल मोहना, मछेली, बन्द र बनरा नदीबाट ठेक्का मार्फत नदीजन्य पदार्थको रोयल्टी सङ्कलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.