अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित बाल संरक्षण, स्पोन्सरसीप, तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाको समीक्षा गरिएको छ । शनिवार वल्र्डभिजन इंटरनेशनल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको साँझदारीमा सञ्चालित परियोजनाको अर्धवार्षिक समीक्षा गरिएको हो ।
कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा परियोजनाका संयोजक रामेश्वर जैरुले ६ महिनाको अवधिमा भएका क्रियाकलाप, उपलब्धि र चुनौतीका बारेमा प्रस्तुतीकरण राखेका थिए ।
उनले ६ महिनाको अवधिमा बाल संरक्षणका न्यूनतम र अति आवश्यक कार्य मोड्युलका क्रियाकलाप अन्तरगत नगरपालिकाको वडा नम्बर २, ७ र १० का २० वटा समूहमा जीवन उपयोगी सिप सम्बन्धी, कक्षा सञ्चालन गरेको, बाल बालिकाको सवाल, दुर्व्यसन, अनलाइन दुरुपयोग, आत्महत्या, बाल विवाह बालश्रम सम्बन्धी अन्तरक्रिया गरेको, सकारात्मक अभिभावक सम्बन्धी अभिभावकलाई अभिमुखीकरण अन्तरसम्बाद गरेको बताए ।
यस्तै ६ महिनाको अवधिमा पालिका र वडा स्तरिय बाल अधिकार समितिका ८ वटा बैठक सम्पन्न गरेको, दिवसहरूमा सहयोग गरेको, स्थानीय शासन समितिका पदाधिकारीलाई बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम दिई ४ वटा बैठक सम्पन्न गरेको उनले बताए । उनले वडा नम्बर १ मा बालमैत्री स्थानीय शासन सूचकका आधारमा अभियान पनि सञ्चालन गरिएको बताए ।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख रानाको एनएनएसडब्लुएले पालिकामा धेरै रामै काम गरेको बताइन् । उनले कार्यक्रमलाई पालिकाका सबै वडामा विस्तार गर्न आवश्यक रहेको बताइन् । समीक्षा कार्यक्रमको सञ्चालन बाल संरक्षण अधिकृत गणेश भुलले गरेका थिए ।
बाल संरक्षण, स्पोन्सरसीप, तथा समावेशी गुणस्तरीय शिक्षा परियोजना हाल पालिकाका १, २, ४, ७ र ९ नम्बर वडामा सञ्चालित छ ।