अत्तरिया- कैलाली र कञ्चनपुरबाट साढे ३ लाख बढीको अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट ३ लाख ५९ हजार ७०० मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ११ हजार १०० मूल्यको सुट, कुर्ती, बेल्ट लगायतका सामान, टीकापुर नगरपालिका-९ जिरो प्वाइन्ट चौगुर्जी नजिकबाट ८० हजार मूल्य बराबरको लेहेङ्गा, सट पाइन्ट, सल लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
त्यसैगरी भजनी नगरपालिका-१ ठेगरपुर, भजनी-३ कनैयापुरबाट अन्दाजी १ लाख ५० हजार मूल्यको प्याज, साइकलको टायर, साइकलको चेन, एक मोटरसाइकल बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ चौकीसत्ता, भीमदत्त-१० विद्युत कार्यालय नजिक र दोधाराचाँदनी नगरपालिका-१० कुतियाकवरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १८ हजार ६०० मूल्यको चिनी, मिश्री, दाल, चना, कपास, पेय पदार्थ (डिउ) लगायत हार्डवेयरका सामान बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।