अत्तरिया – कञ्चनपुरको कृष्णपुरका ग्रामीण सडक धमाधम मर्मत हुन थालेका छन् । हिलाम्मे र धुलाम्मे हुने ग्रामीण सडकहरू पालिकाले मर्मत गर्न थालेको हो । पालिकामा सडक विस्तार भए पनि ती सडकमा ग्राभेल समेत नहुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा पालिकाले ग्रामीण सडक मर्मत गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।
स्थानीय भक्त बहादुर चौधरीले ग्रामीण भेगमा गाउँलेहरूले खोलेका बाटाहरू मर्मत हुन थालेपछि खुसी लागेको बताए । ‘हामीहरूले भट्टाबाट ईटा ल्याएर बनाएको बाटो अहिले सडक बनेको छ’ उनले भने ‘अहिले नगरपालिकाले ग्राभेल हालेर चौडा बनाइदिएको छ । खुसी लागेको छ ।’ उनले हाल नगरपालिकाले आफै निर्माण सामग्री जेसिवी, रोलर ल्याएर ग्राभेल गरिरहेकाले काम पनि राम्रो भएको बताए ।
स्थानीय भागी चौधरीले साँघुरा बाटोहरू विस्तार हुन थालेपछि खुसी लागेको बताइन् । उनले बाटो निर्माण भएपछि आवतजावत गर्न पनि सहज भएको बताइन् । ‘पहिला बाटो राम्रा थिएनन् । निकै साघुरा थियो’ उनले भनिन् ‘अहिले रामो भएको छ । खुसी लागेको छ ।’ उनले गाउँका मुख्य सडक कालोपत्रे, ग्राभेल हुने भए पनि भित्री सडक मर्मत नहुने गरेकोमा यस पटक बसै बाटोहरू बनाउँदा खुसी लागेको बताइन् ।
स्थानीय अंग लाल चौधरीले माटो मात्रै भएका सडकमा वर्षातमा हिलो र सुख्खा मौसममा धुलाम्मे हुने गरेकोमा अहिले सहज भएको बताए । ‘गाउँलेहरू मिलेर खोलेका बाटोहरू थिए । त्यसमा ग्राभेल सम्म नहुँदा हिँडडुल गर्न निकै सास्ती हुने गरेको थियो’ उनले भने ‘अहिले सडकमा ग्राभेल गरेर पानी पिच गर्न थालिएपछि सहज भएको छ ।’
ग्रामीण क्षेत्रका सडक बन्न थालेपछि विद्यार्थीलाई स्कुल जान, किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बजार पु¥याउन पनि सहज भएको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्काले पछिल्लो समय ग्रामीण भेगबाट विद्यार्थीहरू पनि पढ्नको लागि धनगढी, अत्तरिया, गुलरिया जाने भएकाले सडक मर्मत भएपछि सहज भएको बताए । ‘बाटो निर्माण भएपछि धनगढी, अत्तरिया, गुलरियाका स्कुल बसहरू पनि गाउँ गाउँमा पुग्न थालेका छन्’ उनले भने ‘विगतमा बाटो स्तरीय नहुँदा विद्यार्थीहरू बजारमै भाडामा बस्नुपर्ने अवस्था थियो । अहिले सहज भएको छ ।’ उनले बाटाहरू मर्मत भएपछि एम्बुलेन्स सञ्चालनका लागि पनि सहज भएको बताए ।
कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष प्रत्येक वडामा ५–५ किलोमिटर ग्रामीण सडक मर्मत गर्दैछ । जसका लागि नगरपालिकाले आफ्नै ग्रेडर, लोडर, २/२ वटा जेसीवी, टिप्पर र ट्याक्टर खरिद गरेको छ । वडा अध्यक्ष खड्काले उपभोक्ता मार्फत प्रत्येक वर्ष वडाहरूमा बजेट विनियोजन गरेर काम गर्दा त्यति प्रभावकारी नदेखिएपछि हाल नगरपालिका आफैले निर्माण सामग्री खरिद गरेर सडक मर्मत (पानी पिच) गरिरहेको बताए ।
नगरप्रमुख हेम राज ओझाले आफ्नो कार्यकालमा सबै सडक मर्मत गर्ने लक्ष्यका साथ अघि काम गरिरहेको बताए । उनले कम बजेटमा पनि धेरै काम गर्ने उद्देश्यले नगरबाटै निर्माण सामग्री खरिद गरेर सडक मर्मतको काम भइरहेको बताए । नगरबाटै सडक मर्मत गरिदा अनियमितता नहुने उनको दाबी छ ।
उपभोक्ता समिति मार्फत ग्राभेल गर्दा बजेटको आधा पनि काम नहुने गुनासो आउन थालेपछि नगरपालिकाले आफै निर्माण सामग्री खरिद गरेर काम गरिरहेको जनाएको छ । नगरले त्यसका लागि कार्यविधि बनाएको छ ।