कैलालीमा अवैध सामान फेला
अत्तरिया- कैलालीमा प्रहरीले अवैध सामान फेला पारेको छ । जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह, धनगढी-९ सालघाडी, धनगढी-१० घुइयाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ५३ हजार ५६० मूल्यको चिनी, सरप, पित्तलको पराद, कुर्ती, बिडी, गोल्डी मसला, ज्वानो, ब्रोइलर कुखुरा लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
त्यसैगरी टीकापुर नगरपालिका-९ खक्रौलाबाट अन्दाजी ३६ हजार ८५० मूल्यको प्याज, अंगुर, अनार, भजनी नगरपालिका-३ कुसुमघाटबाट २४ हजार मूल्य बराबरको चिनी, बिडी, कुरकुरे, प्लाष्टिक झोला, प्लाष्टिक डोरी लगायतका सामान र लम्कीचुहा नगरपालिका-३ बल्चौरबाट ९ हजार मूल्य बराबरको प्याज बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।