अत्तरिया- कैलालीको अत्तरियामा आयोजित महोत्सवमा भेटिएका नक्कली टिकट ठेलीको ल्याब रिपोर्ट तयार भइसकेको छ । कैलाली प्रहरीका अनुसार जाँचका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको टिकटको ल्याब रिपोर्ट तयार भइसकेको हो ।
रिपोर्ट तयार भइसकेको भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा भने रिपोर्ट पुगिनसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । ‘रिपोर्ट हाम्रो हातमा पुगेको छैन, रिपोर्ट तयार पारेर विधि विज्ञान प्रयोगशाला बर्दिबास पठाइएको भन्ने जानकारी पाछौँ हाम्ले, हुलाकमार्फत हाम्लाई आउने हो, हुलाकको पर्खाइमा छौँ’, उनले भने ।
अत्तरियामा गत पुष २६ गतेदेखि माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएका थिए । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको थियो ।
यो प्रकरणमा नाम जोडिएपछि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्वअध्यक्ष अशोकराज देवकोटा सम्पर्कविहीन रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको बताउँदै आएको छ भने अहिलेसम्म खोज्न नसकेको भन्दै जनस्तरबाट प्रहरीको आलोचना समेत भइरहेको छ ।