कैलालीमा भन्सार छली ल्याइएको प्याज बरामद
अत्तरिया- कैलालीमा भन्सार छली ल्याइएको प्याजसहित अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-१ त्रिवेणीघाट, धनगढी-३ विशालनगरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएइका अन्दाजी १६ हजार ८०० मूल्यको प्याज, किरानाका सामान, ब्रोइलर कुखुरा लगायतका सामान बरामद गरिएको हो ।
त्यसैगरी, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अन्दाजी ८ हजार ७०० मूल्यको प्याज र भजनी नगरपालिका-८ बहादुरपुरबाट २४ हजार मूल्य बराबरको प्याज बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जम्मा ४९ हजार ५०० मूल्य बराबरका उक्त सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।