कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको गोदावरी पुलमा पछिल्लो समय दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुन्छ । तत्कालिन समयमा सुदूरपश्चिमका ७ वटा पहाडी जिल्ला जोड्ने भीमदत्तमा रहेको उक्त पुल भएरै आवतजावत गर्ने गरिन्थ्यो । तल काठको र चारै तिर फलामका डण्डाहरु हालेर बनाईएको उक्त पुललाई काठेपुलले चिनिन्छ । काठेपुल जिर्ण बन्दै गएपछि हाल त्यसकै केही माथि आरसिसि पुल निर्माण गरिएको छ ।
जसबाट हाल पहाडी जिल्लाका सवारी साधनहरु आवत जावत गर्छन । सवारी साधनको आवागमन बन्द गरिएसँगै पुल पर्यटकिय रुपमा प्रचार हुन पुगेको छ । पुलमा राष्ट्रिय झण्डा राखिदाँ अझै मनमोहन देखिने गरेको छ । त्यतिमात्रै नभई पछिल्लो समय उक्त पुलमा परम्परागत कपडामा सजिएर फोटो खिच्ने युवायुवतीहरूको पनि त्यतिकै भिड लाग्ने गरेको छ । उक्त पुलका कारण दैनिक फोटो खिच्ने फोटोग्राफर, कपडा भाडाँमा दिने पसले लगायतका विभिन्न व्यक्तिहरु रोजगार बन्न पुगेका छन ।
एउटा जिर्ण काठे पुलले रोजगारी सृजना गरिरहदा त्यसको मर्मत सम्भार र संरक्षणमा भने ध्यान दिन सकिएको छैन । स्थानिय सरकारले त्यसमा लगानी गर्न सकेको छैन भने सडक विभाग पनि मौन छ । हाल सडक डिभिजन कार्यालय मातहत रहेको भन्दै स्थानिय तहबाट पुलको संरक्षण, संर्वद्धनका लागि बजेट आउने गरेको छैन ।
यता सडक डिभिजन कार्यालयले पनि पुलको मर्मत सम्भारमा ध्यान दिएको छैन । जसका कारण उक्त काठे पुल भत्किने सम्भवना बढेको छ । त्यसमा अझै चिन्ता वरपरको बाढीपहिरोले थपिदिएको छ । वर्षायाममा आउने पानीका कारण माथिबाट पहिरो आउँदा पुल वरपरको जमिन नदीले बगाउदै लगेको छ । उक्त काठे पुल पर्यटकको आकर्षणको केन्द्र बने पनि यसलाई अझै व्यवस्थीत गर्न आवश्यक छ । पुलमा नयाँ टेक्नोलोजी पनि प्रयोग गर्न सके अझै पर्यटकको आकर्षण बढ्छ । पुलको उत्तर पट्टिको पिल्लरमा गतबर्ष आएको बाढीले क्षति पु¥याएको थियो । भत्किएको ठाउँमा हाल राष्ट्रपति चुरे–तराइ मधेस संरक्षण विकास समितिद्वारा १६ लाख ६७ हजार रकम खर्चेर बाध निर्माण गरिएको छ । तर वर्षामा अझै पनि जोखिम कायमै छ ।
पुलमा आउने पर्यटकहरुको सहजताका लागि यहाँ विभिन्न संरचनाहरु अझै बनाउन आवश्यक छ । त्यसका लागि मुख्यतः पुलको काठ परिवर्तन गर्ने, गेट निर्माण गर्ने, शौचालय, पिकनिक स्पोट बनाउने लगायतका कामहरु बाँकी छन । ति कार्यहरु हुन सके मात्रै पनि गोदावरीको पर्यटकिय क्षेत्रमा राहत पुग्न सक्छ ।
तसर्थ सरकारले आफ्नो क्षेत्रमा रहेका परम्परागत संरचनाहरुको संरक्षणमा ध्यान दिन जरुरी छ । सडक डिभिजन कार्यालयले स्वामित्व नदिएको भन्दै सरकारले चुप लागेर बस्न मिल्दैन । स्वामित्व लिने प्रकृया अगाडी बढाउने नभए पुलको संरक्षणका लागि अन्य विभिन्न संघसंस्थाहरुलाई आग्रह गर्ने काम गरिनुपर्दछ । पुलको संरक्षण गरि त्यहाँ आवश्यक भौतिक संरचनाहरु निर्माण गर्न सके गोदावरीको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्न सक्छ ।